पाँचबुँदे प्रतिबद्धतापत्र जारी गर्दै सकियो स्वास्थ्य वैज्ञानिक सम्मेलन

जटिल रोग नियन्त्रणदेखि डिजिटल स्वास्थ्यसम्म

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

तीन दिनसम्म काठमाडौंमा सञ्चालन भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन पाँचबुँदे घोषणा तथा प्रतिबद्धतापत्र जारी गर्दै सकिएको छ। सम्मेलनले अनुसन्धान तथा प्रमाणमा आधारित निर्णय गर्न र त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।

घोषणापत्रमा नेपालमा स्वास्थ्य अनुसन्धानको प्रभावकारी अभिभावकत्व सुनिश्चित गर्न पारदर्शी र जवाफदेही स्वास्थ्य अनुसन्धान प्रणालीलाई सुदृढ र संस्थागत गर्ने, असंक्रामक रोगहरूको प्राथमिक रोकथाम तथा प्रारम्भिक जोखिम न्यूनीकरणमा उच्च प्राथमिकतामा राख्ने र लगानी गर्ने, अनुसन्धानमा आधारित रहँदै कृत्रिम बुद्धिमत्ता, तथ्यांक तथा डिजिटल स्वास्थ्य प्रविधिको प्रयोग सुनिश्चित गर्दै केन्द्रीकृत र सुरक्षित राष्ट्रिय स्वास्थ्य तथ्यांक प्रणाली बनाउने, स्वास्थ्य अनुसन्धान, सुशासन प्रणाली र यसको कार्यान्वयनमा सामाजिक न्याय, ‘वन हेल्थ’ (एक स्वास्थ्य) र जलवायु अनुकूल दृष्टिकोणलाई प्रवर्द्धन गर्ने र प्रमाणमा आधारित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न दिगो वित्तीय व्यवस्था सुनिश्चित गर्ने उल्लेख छ।

१२औँ शिखर सम्मेलनमा नसर्ने रोग, प्रजनन स्वास्थ्य, मातृ, नवजात तथा बाल स्वास्थ्य र परिवार नियोजन, मानसिक स्वास्थ्य, स्वास्थ्य सुशासन, स्वास्थ्य वित्त तथा जनशक्ति, संक्रामक रोग, महामारी तयारी तथा विपत् व्यवस्थापन, चिकित्सकीय विज्ञान, आयुर्वेद तथा परम्परागत चिकित्सा, वातावरणीय तथा पेसागत स्वास्थ्य, जलवायु परिवर्तन, स्वास्थ्य सेवा पहुँचमा असमानता, स्वास्थ्यका सामाजिक निर्धारकहरू, स्वास्थ्य शिक्षा तथा प्रवर्द्धन, पोषण तथा खाद्य सुरक्षा, बसाइँसराइ र स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य, तथा औषधिमा पहुँचलगायत मुद्दामा अन्तर्क्रिया र अनुभव आदाप्रदान तथा रिपोर्ट प्रस्तुत गरिएको एनएचआरसीका अनुसन्धान अधिकृत नमिता घिमिरेले बताइन्। उनका अनुसार ‘नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया’ नारा अघि सारिएको थियो।

सम्मेलनले राष्ट्रिय तथा विश्वव्यापी स्वास्थ्य चुनौतीको समाधानका लागि अनुसन्धान, नीति र अभ्यासबिचको सम्बन्ध सुदृढ पार्न सहयोग पुगेको उनको भनाइ छ। सम्मेलनमा नीति निर्माता, अनुसन्धानकर्ता, विश्वविद्यालय, विकास साझेदारहरू सहभागी थिए। एक हजार दुई सयभन्दा बढी सहभागी रहेको सम्मेलनमा बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अस्ट्रेलिया, कोरिया तथा युरोपका प्रतिनिधि सहभागी थिए।

सम्मेलनबाट प्राप्त सुझाव तथा घोषणापत्र कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयमा पठाइने एनएचआरसीका कार्यकारी निर्देशक तथा सदस्य सचिव डा. प्रमोद जोशीले बताए। उनका अनुसार सम्मेलनमा ७८ वटा वैज्ञानिक, ३३ वटा नीतिसम्बन्धी, १२० वटा पोस्टरको प्रस्तुतीकरण भएको थियो। ‘स्वास्थ्य क्षेत्रमा लगानी कम छ, यस क्षेत्रको सुधारका लागि राज्यले लगानी बढाउन जरुरी छ,’ उनले भने, ‘लगानी बढाउनेबारे पनि सम्मेलनमा गम्भीर छलफल भएको छ।’ सम्मेलनको अन्तिम दिन आइतबार स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम तथा अनुसन्धान गर्ने ११ जनालाई विभिन्न विधामा अवार्डसमेत वितरण गरिएको छ।

सुझावित समाचार