घोषणामै सीमित भयो कोशीको पर्यटन वर्ष

‘प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा भएको एक वर्ष बित्दा पनि मुख्य योजना भने कार्यान्वयनमै जान सकेन

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

१६ लाख पर्यटन भित्र्याउने लक्ष्यसहित कोशी प्रदेशले घोषणा गरेको ‘प्रदेश पर्यटन वर्ष २०८२’ को उपलब्धि निकै न्यून देखिएको छ । गत वर्ष २७ चैतमा प्रदेश सरकारले तेह्रथुमको वसन्तपुरस्थित तीनजुरे मिल्के जलजलेमा भव्य कार्यक्रमसहित तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंह र कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भ्रमण वर्षको उद्घाटन गरेका थिए ।

प्रदेश सरकारले ‘प्रदेश पर्यटन वर्ष २०८२’ लाई सफल बनाउन पाँच करोड ४६ लाख बजेट विनियोजन गरेको थियो । तर, पर्यटन वर्ष घोषणा भएको एक वर्ष बितिसक्दा पनि मुख्य योजना भने कार्यान्वयनमै जान सकेन । पर्यटन नीति र प्रचारप्रसार अनि पूर्वाधारबारे केही कार्यक्रम सुरु गरिए पनि ती अझै पूरा भएका छैनन् ।

जसले गर्दा १६ लाख पर्यटन भित्र्याउने पर्यटन वर्षको हल्ला धेरै काम थोरै भएको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । लाखौँ पर्यटक भित्र्याउने लक्ष्य पूरा नभएपछि अहिले पर्यटन वर्षलाई पर्यटन पूर्वाधार वर्षका रूपमा प्रचार गरिन थालेको छ । पर्यटनका धेरै कार्यक्रमका लागि विनियोजन भएको बजेट त नै रोक्का भयो । केही बजेट निकासा भएका कार्यक्रम पनि नीतिनियम र तयारीको अभावले कार्यान्वयनमा जान सकेन । 

कोशी सरकारले भने घोषणा भएको पर्यटन वर्ष सफल हुन नसक्नुमा जेन–जी आन्दोलनको असरलाई प्रमुख मानेको छ । आन्दोलनका कारण अर्थ मन्त्रालयले बजेट कटौती गर्दा र समयमा कार्यक्रम निर्माण हुन नसकेको र पर्यटन वर्षको अपेक्षाकृत सफल हुन नसकेको प्रदेश पर्यटन मन्त्रालयका महाशाखा प्रमुख कृष्णकुमार नेउपाने बताउँछन् । उनका अनुसार आन्दोलनपछि सरकारको अलमल, सचिवहरूको सरुवालगायतनका कारणले महत्वपूर्ण कार्यक्रम रोकिन पुगे ।

पर्यटन वर्ष सञ्चालन गराउने मूल निर्देशन समिति नै मंसिरमा मात्रै गठन भयो । जसले गर्दा पहिलो चरणमै गरिसक्नुपर्ने पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका कार्यक्रम स्थगित भए । मन्त्रालयले निर्माण गरेका कार्यक्रममध्ये करिब दुई दर्जन कार्यान्वयनमा गए पनि अझै पूरा भएका छैनन् । यसैले सरकारले चालू आर्थिक वर्षभरि पर्यटन वर्षको म्याद थप गराएर जारी योजना सम्पन्न गर्ने भएको छ । 

कोशीका पर्यटन व्यवसायी तथा निर्देशन समिति सहसंयोजक भवेशकुमार श्रेष्ठले कार्यक्रम निर्माण र बजेट कार्यान्वयनमा ढिलाइ हुँदा पूर्वाधार विकास र प्रवद्र्धनका कार्यक्रम रोकिएकाले मुख्य सिजन सकिँदा पनि पर्यटक आकर्षित गर्न नसकिएको बताउँछन् । उनले भने, ‘कार्यत्रम हँुदै नभएका त होइनन्, तर बजेट खर्च गर्ने तरिका र सरकारी ढिलासुस्तीले गर्दा हुनुपर्नेजति नहुँदा पर्यटन वर्षले गति लिन सकेन । सरकारले पर्यटन वर्ष मनाउने घोषणा गरेर पनि बजेट खर्च तथा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमै अल्झियो ।’ 

ब्रान्ड एम्बासडरसमेत नियुक्त भएन 
कोशी प्रदेशमा निर्माण भइरहेका चारवटा पदमार्गको प्रचारप्रसारका लागि पाँच लाख बजेट विनियोजन भए पनि प्रदेश सरकारले ब्रान्ड एम्बासडरसमेत नियुक्त गर्न सकेन । प्रदेशका कर्मचारीसहितको सहभागितामा हिमाल आरोहरण गर्न कार्यक्रम, लगानीकर्तालाई कोशीका पर्यटन गन्तव्यको अवलोकन भ्रमण, सगरमाथा आधार शिविर क्षेत्रमा अन्तक्र्रियालगायतका कार्यक्रम पनि भएन । यसैगरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने, भिडियो डकुमेन्ट्री बनाउनेदेखि पर्यटन बोर्ड र प्रतिष्ठान गठन कार्य अगाडि बढन सकेन । 

सुरक्षित पर्यटन बुझाउन कोशीका व्यवसायीको सक्रियता 
जेन–जी आन्दोलनपछि नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश प्रवाह कोशीका पर्यटन व्यवसायीहरू सक्रिय भएका छन् । उनीहरूले भारत र तेस्रो मुलुकका व्यवसायीसँग सम्बन्ध बनाएर नेपालको गन्तव्य सुरक्षित रहेको प्रचार गरिरहेका छन् । व्यवसायीहरू भारतको निजी क्षेत्रको सहयोगमा विहार र बंगालका विभिन्न सहरमा विभिन्न कार्यक्रम गरी नेपाल भ्रमणको आग्रह गर्दै आएका छन् । विराटनगरका पर्यटन व्यवसायी पुण्य भट्टराई भन्छन्, ‘नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने बुझाउन हामी निजी क्षेत्रबाट सक्रिय भएका छौँ ।’ 

सुझावित समाचार