मूल्य समायोजन गर्न र ठेक्का अवधि थप्न संखुवासभाका निर्माण व्यवसायीको माग

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

नेपाल निर्माण व्यावसायी संघ संखुवासभाले इन्धनको मूल्यवृद्धिले निर्माण व्यवसाय धरासयी बन्ने अवस्थामा पुगेको भन्र्दै सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार खाँदबारीमा पत्रकार सम्मेलन गर्दै संघले मध्यपूर्वमा भइरहेको युद्धका कारण इन्धनजन्य सामग्रीको मूल्यवृद्विले गर्दा निर्माण उद्योगमा प्रत्यक्ष असर परेकाले मूल्य समायोजन गर्न सरकारको माग गरेको छ। 

नेपाल निर्माण व्यावसायी महासंघका पूर्वकेन्द्रीय सदस्य मिगूर शेर्पाले मध्यपूर्वमा नै इन्धनको मूल्यवृद्धिले पूरानो दररेटमा निर्माणको जिम्मा लिएको काम सम्पन्न गर्न व्यावसायीहरुलाई समस्या भएकाले सरकारले तत्कालै मूल्य समायोजन गर्नुपर्ने बताए। उनले व्यक्तिको निजी सम्पत्तिले राज्यको विकास गर्न नसकिने बताउँदै आवश्यकताका आधारमा योजना सम्पन्न गर्नका लागि मूल्य समायोजन गरेर सरकार अघि बढ्नुपर्ने बताए।

‘राज्यले मूल्य समायोजन नगर्ने हो भने यही अवस्थामा निर्माण व्यावसायीहरुले काम गर्न सक्ने स्थिती छैन। हामीले १२० रुपैयाँ प्रतिलिटर डिजेलको ठेक्का हालेका छौँ, अहिले २२० रुपैयाँ भइसक्यो। अझै कति बढ्ने हो निश्चित छैन, अनि कसरी काम गर्न सक्छौं त ? आफनो घर खेत बेचेर राज्यको विकास गर्न सकिँदैन,’ शेर्पाले भने।

संघको संखुवासभाका महासचिव सुनिल कुमार श्रेष्ठले राज्यले निर्माण व्यावसायीहरुलाई यहि असार मसान्तभित्रै काम सक्नुपर्छ भनेर दबाब दिन नहुने र समय थप गर्नुपर्ने बताए। तोकिएको सम्झौता मिति थप गरी काम गर्दा निर्माण व्यवसायीहरु पुनः तङ्ग्रिएर काम गर्न सक्ने महासचिव श्रेष्ठको भनाइ छ।

सरकारले समयभित्रै व्यवसायी र राज्यको हितमा मूल्य समायोजन नगर्ने हो भने देशभरका खर्बौं मूल्यका योजना र ठेक्काहरु लथालिङ्ग हुन सक्नेतर्फ व्यवसायीहरुले सचेत गराएका छन्।
 

सुझावित समाचार