चेम्बर अफ कमर्सको हीरक जयन्ती
राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा नभई देशको ‘आर्थिक इन्जिन’का रूपमा लिनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सुदृढ हुने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबिच सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । ‘हामीले भुल्न नहुने एउटा महत्वपूर्ण कुरा के हो भने निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुन्छ ।
निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक छ,’ उनले भने, ‘निजी क्षेत्र केवल आर्थिक वृद्धिको आधार मात्र होइन, यो देशको आर्थिक इन्जिन हो भन्ने म ठान्छु ।’
हीरक जयन्ती वर्षको अवसरमा आयोजित कार्यक्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई विभिन्न विधामा सम्मान गरिएको छ । चेम्बरका पूर्वअध्यक्षहरूका नाममा स्थापना गरिएका मेमोरियल अवार्डमार्फत व्यापार, उद्योग, कृषि, पर्यटन, सामाजिक सेवा, ट्रेड लजिस्टिक्सलगायतका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई राष्ट्रपतिबाट सम्मान गरिएको हो ।
ईश्वरलाल श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डतर्फ सुजल फुड्सका सहसंस्थापक गणेशबहादुर श्रेष्ठ तथा पर्यटनतर्फ वनबारीलाल मित्तल मेमोरियल अवार्डबाट होटेल शंकरका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोदशंकर श्रेष्ठ सम्मानित भए । व्यापारतर्फ जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड नेपाल उल हाउसलाई प्रदान गरिएको छ । कृषितर्फ राजबहादुर चिपालु मेमोरियल अवार्डबाट गणेश हेम्सका गणेश ऐडी, ट्रेड लजिस्टिक्सतर्फ बिहारीलाल खेतान मेमोरियल अवार्डबाट एभरेस्ट डी कार्गोका अध्यक्ष रविन्द्रमानसिंह प्रधान, उद्योगतर्फ इन्द्रभक्त मेमोरियल अवार्डबाट विशाल ग्रुपका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल र सामाजिक सेवातर्फ बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्डबाट नेपाल क्यान्सर अस्पताल सम्मानित भएका छन् ।
त्यस्तै, जनकदास श्रेष्ठ मेमोरियल अवार्ड एजु केसलाई प्रदान गरिएको छ भने प्रदेश, जिल्ला तथा नगर चेम्बरमध्ये उल्लेखनीय कार्य गरेबापत मोरङ चेम्बर अफ कमर्सलाई कदरपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले २००७ सालदेखि सुरु भएको चेम्बर आन्दोलन देशव्यापी रूपमा विस्तार भइसकेको बताए । पछिल्लो समय राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता तथा मौद्रिक र आर्थिक नीतिबिच समन्वय अभावका कारण निजी क्षेत्र प्रभावित भएको बताए ।
‘बैंकिङ प्रणालीमा लगानीयोग्य रकम हुँदा पनि निजी क्षेत्र आकर्षित हुन सकेको छैन,’ उनले भने, ‘युवालाई स्वदेशमै अवसर सिर्जना गरी ‘ब्रेन ड्रेन होइन, ब्रेन गेन’को रणनीति अवलम्बन गर्नुपर्छ ।’ अग्रवालले निजी क्षेत्र नयाँ नेतृत्वप्रति सकारात्मक रहेको उल्लेख गर्दै सरकारसँग सहकार्य गरेर आर्थिक गतिविधि विस्तार गर्न तयार रहेको बताए ।
त्यसैगरी, चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले परम्परागत सोचबाट माथि उठ्दै नवप्रवर्तन, डिजिटल रूपान्तरण र दिगो विकासतर्फ उन्मुख हुनुपर्ने बताए ।
‘नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्न, स्टार्टअप संस्कृति विकास गर्न र प्रविधिमा आधारित व्यवसायलाई प्रोत्साहन गर्न सबै पक्षको सहकार्य आवश्यक छ,’ उनले भने, ‘स्पष्ट कानुनी व्यवस्था, आधुनिक पूर्वाधार, सुलभ वित्तीय पहुँच र दक्ष जनशक्तिविना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन ।’