कांग्रेस सभापति गगनकुमार थापाले पपुलिजमका कारण पुराना दलहरू समस्यामा परेको बताएका छन् । कांग्रेस गण्डकी प्रदेशले पोखरामा शनिबार आयोजना गरेको निर्वाचन समीक्षा तथा ‘कांग्रेसको अबको बाटो’ विषयक कार्यक्रममा सभापति थापाले पपुलिजमको प्रभाव नेपाल मात्र नभई विश्वभर देखिएको बताए ।
थापाले विगतमा आर्थिक उदारवादको लहर रहेको भए पनि अहिले पपुलिजमको लहर चलेको बताए । उनले सामाजिक सञ्जाल र पपुलिजमको संयोजनले परम्परागत दलहरूलाई चुनौती दिएको उल्लेख गरे । उनका अनुसार पहिले पार्टीको पिरामिड संरचनामार्फत सन्देश तलसम्म पुग्थ्यो, तर अहिले सामाजिक सञ्जालले केही समयमै सन्देश फैलाइदिन्छ ।
उनले नयाँ मिडियामा जटिल विषय प्रस्तुत गर्न कठिन हुने बताए । ‘कसैलाई ‘३० वर्ष लुट्यो’ भनेर छोटो सन्देश दिँदा तत्काल भावनात्मक प्रतिक्रिया आउँछ,’ उनले भने । ‘पपुलिजमसगै नयाँ मिडिया आएको छ, जसलाई हामीले बोलीचालीमा सामाजिक संजाल भन्ने गरेका छौ । पपुलिजम र नयाँ मिडियाको कम्बिनेशनले परम्परागत दललाई समस्या परेको हो,’ उनले भने, ‘हिजो राजनीतिक संरचनाका पार्टी थिए, क्रियाशील सदस्य थिए, कार्यकर्ता थिए, नेता आउँथे कुरा राख्थे अनि कार्यकर्ताले सुनेर तलसम्म पुर्याउँथे अर्थात् पिरामिडजस्तो संरचना थियो, तर हाल पिरामिडिजस्तो संरचना नै चाहिएन हामी यहाँ बसेका छौँ । नयाँ मिडियाले केही समयमै कुरा कसलाई पुर्याउनुपर्ने हो पुर्याइदिन्छ, पुरानो संरचना नै चाहिएन, अर्थात् भत्कियो ।’
उनले पार्टीको वर्तमान अवस्था कुनै एक घटनाले नभई लामो प्रक्रियाबाट आएको भन्दै गहिरो समीक्षा आवश्यक रहेको बताए ।