चीनको प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण हुने काठमाडौं चक्रपथको दोस्रो खण्ड अर्थात् कलंकी–वसुन्धराको विस्तारका लागि एक महिनाभित्र द्विपक्षीय कार्यान्वयन सम्झौता हुने भएको छ । चिनियाँ पक्षले औपचारिक संयन्त्रमार्फत अबको दुई सातामा उक्त सम्झौतापत्रको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । त्यसपछि नेपाल पक्षले आवश्यक अध्ययन गरेर चीनसँग सम्झौतापत्रमा हस्ताक्षर गर्नेछ । नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवले हस्ताक्षर गर्नेछन् । कार्यान्वयन सम्झौतापत्र हस्ताक्षर गरेसँगै चीनले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र बोलपत्रका कागजात बुझाउनेछ । सडक विभागको त्यो स्वीकृति भएपछि चिनियाँ पक्षले निर्माणको प्रक्रिया अघि बढाउनेछ ।
सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले अबको एक महिनाभित्र चीनसँग कार्यान्वयन सम्झौता हुने बताए । ‘चिनियाँ पक्षले औपचारिक संयन्त्रमार्फत कार्यान्वयन सम्झौताको मस्यौदा पठाउँदै छ भन्ने जानकारी आएको छ । त्यो बढीमा दुई साता लाग्छ भन्ने छ,’ उनले भने, ‘मस्यौदाको अध्ययन गरेर लगत्तै सम्झौतापत्रमा हस्ताक्षर गर्नेछौँ । कार्यान्वयन सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै चिनियाँ पक्षले डिपिआर र बिड डकुमेन्ट बुझाउँदै छ । सडक विभागले त्यो स्वीकृत गरेपछि परियोजना निर्माणको काम अघि बढ्नेछ ।’
गत १२ फागुनको मन्त्रिपरिषद्ले कलंकी–वसुन्धराको निर्माणमा चीनलाई सबै प्रकृतिको करमा छुट दिने निर्णय गरिसकेको छ । ‘चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलंकीदेखि वसुन्धरासम्मको काठमाडौं–चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लिखित विषयहरूमा कर छुट दिने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको थियो ।
दोस्रो खण्डको निर्माणका लागि छनोट हुने ठेकेदार कम्पनीले यो सुविधा पाउनेछ । निर्माणका क्रममा आवश्यक पर्ने सामानको आयात र आन्तरिक खरिदमा कर छुट दिइनेछ । चिनियाँ अनुदानमै बनेको चक्रपथको विस्तार पनि चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा हुँदै छ । त्यसमा सरकारले पहिलो खण्ड कोटेश्वर–एकान्तकुना–कलंकीमा जस्तै दोस्रो खण्डको विस्तारमा पनि सबै प्रकृतिको कर छुट दिने निर्णय गरेको थियो । त्यसपछि चीनसँग कार्यान्वयन सम्झौता गर्ने बाटो खुला भएको हो । अब द्विपक्षीय रूपमा कार्यान्वयन सम्झौता भएपछि निर्माणको प्रक्रिया अघि बढ्नेछ । यसका लागि चीनले नै दबाब दिएको छ । आर्थिक र प्राविधिक सहयोग गरेको चीनले आफ्नै ठेकदार कम्पनी छनोट गरेर निर्माणका लागि परिचालन गर्नेछ । निर्माणका काम सम्पन्न भएपछि चीनले नेपाल सरकारलाई परियोजना हस्तान्तरण गर्नेछ । परियोजनाको निर्माणकार्य सम्पन्न हुन चार वर्ष लाग्ने अनुमान छ । कार्यान्वयन सम्झौता, डिपिआर अध्ययन तथा स्वीकृति, खरिद प्रक्रियालगाायतका चरण पूरा गर्दा अबको ६ महिनादेखि एक वर्षमा निर्माण सुरु हुने अपेक्षा गरिएको छ ।
दोस्रो चरणमा कलंकी–धोबीखोला खण्ड (११.६ किलोमिटर)लाई विस्तार गर्ने भनिएको थियो । तर, नारायणगोपाल चोकदेखि धोबीखोलासम्म साइट क्लियरेन्स हुन नसकेपछि चीनले कलंकी–वसुन्धरा खण्ड (८.२ किलोमिटर) मात्रै विस्तार गरिँदै छ ।
पछिल्लोपटक ६ भदौ ०८१ मा ८.२ किलोमिटर लामो उक्त सडकखण्ड विस्तार गर्न चीन र नेपालबिच सम्झौता भएको थियो । त्यसपछि चीनको सिसिसिसी फर्स्ट हाइवे कन्सल्ट्यान्ट्स कम्पनी लिमिटेडले परियोजनाको डिपिआर बनाउने प्रक्रिया अघि बढाएको थियो । यसका लागि उक्त कम्पनी वैशाख ०८२ देखि फिल्डमा थियो । उक्त कम्पनीले परियोजनाको डिपिआर तयार गरिसकेको छ । कार्यान्वयन सम्झौता गरेपछि डिपिआर बुझाउने चीनको तयारी छ ।
चीनले यसअघि नै पठाएको ‘टेक्निकल कन्फर्मेसन’अनुसार चीनको सहरी सडकको स्ट्यान्डर्डमा चक्रपथ विस्तार गरिँदै छ । दोस्रो खण्डको चौडाइ ६२ मिटर हुनेछ । त्यसमा बिचको ३७.५ मिटरमा मुख्य संरचना बन्नेछन् ।
बिचमा तीन मिटरको सेन्टर मिडियन (बिचमा खाली ठाउँ) राखिनेछ । सोही मिडियनको दायाँ–बायाँ चार–चार लेनको मुख्य सडक बनाइनेछ । एउटा लेनको चौडाइ ३.५ मिटरको दरमा दुवैतर्फ १४–१४ मिटरको सडक हुनेछ । लेन र डिभाइडर छुट्याउँदा–छुट्याउँदा दुवैतर्फ थप ०.५–०.५ मिटर खण्ड प्रयोग हुनेछ । यसैगरी, दुवैतर्फ २.७५–२.७५ मिटरको फुटपाथ बनाइनेछ ।
फुटपाथपछि दायाँ–बायाँ १.१५–१.१५ मिटरको ग्रिन बेल्ट (हरियाली क्षेत्र) बनाइनेछ । हरियाली क्षेत्रपछि दुवै साइटमा ६–६ मिटरको सर्भिस लेन बनाइनेछ । सर्भिस लेनपछि दुवै साइटमा थप पाँच–पाँच फिटको फुटपाथ बनाइनेछ । मेनलेनसँग जोडिएको फुटपाथबाहिरको संरचना कसले बनाउने भन्ने विषयमा सम्झौता हुन बाँकी छ । यद्यपि, यो चीनले बुझाउने अन्तिम डिपिआरमा निर्भर रहनेछ ।
परियोजना निर्माणमा चीनले झन्डै १२ अर्ब खर्च गर्नेछ । यद्यपि, यो डिपिआर स्वीकृति भएपछि टुंगो लाग्नेछ । चीनले यसअघि बुझाएको टेक्निकल कन्फर्मेसन’ परियोजनाको लागत ५६ करोड ७१ लाख चिनियाँ युयान (आरएमबी) लागत देखाइएको छ ।