पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा अपराजित यात्रा चौथो खेलसम्म कायम राखेको छ । शनिबार भएको खेलमा पन्जाबले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्यो । तीन खेलाडीले अर्धशतक बनाएपछि पञ्जावले सात बलअघि जित निकालेको हो ।
न्यु चन्दिगरमा टस हारेर सुरुमा ब्याटिङ गरेको हैदराबादले ६ विकेट गुमाउँदै दुई सय २० रनको लक्ष्य दियो । प्रत्युत्तरमा पन्जाबले मात्र चार विकेट गुमाएर १८.५ ओभरमा जित निकालेको हो । पन्जाबले आइपिएलको इतिहासमा दशौँपटक दुई सय माथिको लक्ष्य पूरा गरेको छ । खेलभर चार अर्धशतक बन्दा पन्जाबका खेलाडीले तीन अर्धशतक बनाएका थिए । कप्तान श्रेयश एङ्ढयर, प्रियान्स आर्या र प्रवसिमरान सिंहले अर्धशतक बनाएका हुन् ।
यो जितपछि पन्जाबले सात अंक जोड्दै दोस्रो स्थानको पकड बनाएको छ । उसले चारमध्ये तीन खेल जित्यो । एक खेल भने वर्षाले स्थगित हुँदा अंक बाँड्न बाध्य भयो । पन्जाबअघि ८ अंक जोडेको राजस्थान रोयल शीर्ष स्थानमा रहेको छ । पन्जाबसँग पराजित हैदराबाद दुई अंकसहित छैटौँ स्थानमा छ । यो हारसँगै हैदराबाद दोस्रो जित निकाल्नबाट वञ्चित भएको थियो । १० टिम सहभागी लिगको शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।
हेड र अभिषेकको शतकीय साझेदारी
ओपनरद्वय अभिषेक शर्मा र ट्राभिस हेडले एक सय २० रनको ओपनिङ साझेदारी गरे पनि टिमलाई जिताउन सकेनन् । दुई खेलमा ५० बलमै १२० रन बनाएका हुन् । तर, मध्यक्रम र तल्लोक्रम चल्न नसक्दा हैदराबाद ठुलो स्कोर बनाएर पनि चुक्न पुग्यो । अभिषेकले मात्र २८ बलमा ७४ रन बनाएका हुन् । उनले पाँच चौका र आठ छक्का हिर्काएका थिए । हेडले २३ बलमा ३८ रनको योगदान गरे । हेनरिक क्लासेनले ३३ बलमा ३९ रन जोडे । कप्तान इशान किसनले १७ बलमा २७ रन थप गरे । बलिङतर्फ अर्सदीप सिंह र शशांक सिंहले समान दुई विकेट हात पारेका थिए ।
श्रेयस, प्रियान्स र प्रवसिमरनको अर्धशतक
दुई सय २० रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबका लागि कप्तान श्रेयशसहित तीन खेलाडीले अर्धशतक बनाएका थिए । श्रेयशले ३३ बलमा सर्वाधिक अविजित ६९ रन बनाएका हुन् । उनले समान पाँच चौका र छक्का हिर्काएका थिए । ओपनरद्वय प्रियान्सले मात्र २० बलमा ५७ रन बनाए । उनले पनि समान पाँच चौका र छक्का हिर्काएका हुन् । प्रवसिमरनले २५ बलमा ५१ रनको योगदान गरे । उनले समान चार चौका छक्का हिर्काएका थिए । पहिलो विकेटका लागि प्रियान्स र प्रवसिमरनले मात्र ३८ बलमा ९९ रनको साझेदारी गरेपछि पन्जाब जिततर्फ अगाडि बढेको थियो । चौथो विकेटका लागि श्रेयशले नेहल बाधिरासँग ३५ बलमा ६९ रनको साझेदारी गरेका थिए । बाधिराले मात्र १४ रन जोडे । शशांक सिंह १६ रनमा अविजित रहे । हैदराबादका लागि सिभाङ कुमारले सवििधक तीन विकेट लिएका थिए ।
चेन्नईको पहिलो जितमा सामसनको शतक
ओपनर सन्जु सामसनले शतक बनाएपछि चेन्नई सुपर किंग्सले आइपिएलमा पहिलो जित निकालेको छ । शनिबार भएको दोस्रो खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्यो । चेन्नईस्थित एमए चिदाम्बरम मैदानमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै दुई सय १३ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा २० ओभर नै खेलेको दिल्ली अलआउट हुँदा मात्र एक सय ८९ रन बनाउन पुग्यो ।
चेन्नईले चार खेल खेल्दा पहिलो जित निकालेको छ । दुई अंक जोडेपछि टोली एक स्थान सुधार गर्दै नवौँ स्थानमा उक्लियो । चेन्नई यसअघि राजस्थान रोयल्स, पन्जाब किंग्स र आरसिबीसँग पराजित भएको थियो ।
दोस्रो हारपछि दिल्लीले भने तेस्रो स्थानमा उक्लने अवसर गुमायो । चार खेलबाट चार अंकसहित दिल्ली चौथो स्थानमा छ । दिल्लीले यसअघि लखनउ सुपर जायन्ट र मुम्बई इन्डियन्सलाई हराएको थियो । पछिल्लो खेलमा पनि टिम गुजरात टाइटन्ससँग पराजित भएको थियो ।
दिल्लीका लागि त्रिस्टान स्टब्सले सर्वाधिक ६० रन बनाए । उनले ३८ बलमा चार चौका र ३ छक्का हिर्काएका हुन् । ओपनर पाथुम निशंकाले २४ बलमा ४१ था केएल राहुलले १८, आशुतोष शर्माले १९ तथा डेबिड मिलरले १७ रनको योगदान गरे ।
चेन्नईका लागि जेमी ओभर्टनले सर्वाधिक चार तथा अन्सुल कामदोजले तीन विकेट लिएका हुन् । पहिलो विकेटका लागि केएल राहुल र निशंकाबिच ३२ बलमा ६१ रनको साझेदारी भए पनि मध्यक्रम चल्न नसक्दा हार व्यहोर्नुपर्यो ।
यसअघि टस हारेको चेन्नईका लागि ओपनर सन्जुले अविजित शतकीय इनिङ्स खेले । उनले ५६ बलमा एक सय १५ रन बनाएका हुन् । उनले १५ चौका र ४ छक्का हिर्काए । भारतीय राष्ट्रिय टिमबाट सानदार प्रदर्शन गर्दै आएका सन्जु यो आइपिएलमा शतक बनाउने पहिलो खेलाडीसमेत हुन् । यस्तै, आयुष महत्रेले ३६ बलमा ५९ रनको योगदान गरेका हुन् । शिभम दुवेले २० तथा कप्तान ऋतुराज गैकवाडले १५ रनको जोडेका थिए । चेन्नईका लागि सामसन र महत्रेले दोस्रो विकेटका लागि ६७ बलमा सर्वाधिक एक सय १३ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका लागि सामसन र गैकवाडले ३८ बलमा ६२ रनको दोस्रो ठुलो साझेदारी गरेका थिए ।