जितपुरसिमरा उपमहानगरका सामुदायिक विद्यालयको कक्षा ८को नतिजा लज्जास्पद, अधिकांश विद्यालय असफल

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

जितपुरसिमरा उपमहानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूको आधारभूत तह (कक्षा ८) को नतिजाले स्थानीय शिक्षा प्रणालीको कमजोर अवस्था उजागर गरेको छ। उपमहानगरपालिकाले सार्वजनिक गरेको पछिल्लो नतिजाअनुसार अधिकांश विद्यालयले अत्यन्त न्यून उपलब्धि हासिल गरेका छन, जसले शैक्षिक गुणस्तरप्रति गम्भीर चिन्ता उत्पन्न गराएको छ।

उपमहानगरभित्रका २९ सामुदायिक विद्यालयमध्ये २५ विद्यालयको नतिजा सन्तोषजनक नभई निकै कमजोर रहेको छ। विशेष गरी चार विद्यालयमा एकजना विद्यार्थीले पनि न्यूनतम ग्रेड प्राप्त गर्न नसक्नुले अवस्था झन् भयावह देखिएको छ। थानी आधारभूत विद्यालय बिरेदमार, आदर्श आधारभूत विद्यालय नहरक्याम्प, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपरा र नेपाल राष्ट्रिय मौवादेवी माध्यमिक विद्यालयमा सहभागी सबै विद्यार्थी असफल भएका छन्।

यसबाहेकका विद्यालयहरूको अवस्था पनि खासै सुधारिएको देखिँदैन। ११ वटा विद्यालयले १० प्रतिशतभन्दा कम नतिजा ल्याएका छन् भने चार विद्यालय १० देखि १६ प्रतिशतको सीमामा सीमित छन्। अधिकांश विद्यालयले आधाभन्दा कम नतिजा ल्याएका छन, जहाँ २५ विद्यालयले ५० प्रतिशतको सीमा पार गर्न सकेका छैनन्। केवल चार विद्यालयले मात्र ५० प्रतिशतभन्दा माथि नतिजा ल्याउन सफल भएका छन्, जसले समग्र उपलब्धि अत्यन्त न्यून रहेको पुष्टि गर्दछ।

धेरै विद्यार्थी सहभागी भएका विद्यालयहरूमा समेत अपेक्षित नतिजा आउन सकेको छैन। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा १२८ विद्यार्थी सहभागी भए पनि नतिजा केवल ३२ प्रतिशतमा सीमित रह्यो। त्यस्तै, ९५–९५ विद्यार्थी सहभागी भएका फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियाको नतिजा क्रमशः २३.२ प्रतिशत र २२.१ प्रतिशत मात्र देखिएको छ।

नतिजाले विद्यार्थीहरूको भविष्यमा प्रत्यक्ष असर पार्ने देखिएको छ। कुल ८ सय ४५ परीक्षार्थीमध्ये ३ सय ९५ जनाले मात्र पुनः परीक्षा (ग्रेड वृद्धि) को अवसर पाउनेछन भने ४ सय ५० विद्यार्थीले त्यो अवसर पनि गुमाउनेछन्। शिक्षा शाखाका अधिकृत हरिश भट्टका अनुसार दुई विषयसम्म मात्र असफल भएका विद्यार्थीले पुनः परीक्षा दिन पाउने प्रावधान छ, तर दुईभन्दा बढी विषयमा असफल हुने विद्यार्थी पुनः कक्षा ८ मा अध्ययन गर्न बाध्य हुनेछन्।

सुझावित समाचार