विराट गोल्डकपको उद्घाटन खेलमा पूर्वविजेता झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । विराटनगरको सहिद रंगशालामा दिवा तथा रात्रि समयमा २८ चैत शनिबारदेखि आयोजना हुने विराट गोल्डकप ५ चैतसम्म चल्नेछ । विराट गोल्डकप ट्रस्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाका अनुसार गोल्डकपमा मोरङ जिल्लाको लिग विजेता टोली सम्राट स्पोर्टिङ क्लबदेखि भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित आठ टोलीले सहभागिता
जनाएका छन ।
ट्रफीसहित ११ लाख रुपैयाँ पुरस्कार रहेको विराट गोल्डकपको दोस्रो खेलमा अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजसँग स्पर्र्धा गर्नेछ । थ्री स्टार क्लबको अनुपस्थिति रहने गोल्डकपको तेस्रो खेलमा नेपाल पुलिस क्लबले ०८० सालको विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।
गोल्डकपको अघिल्लो संस्करणमा थ्री स्टारले चर्च ब्वाइजलाई २–० ले पराजित गर्दै समग्रमा दोस्रोपटक उपाधि जितेको थियो । थ्री स्टारले गोल्डकपको पाँचौँ संस्करणमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।गोल्डकपका प्रवक्ता लामाका अनुसार प्रतियोगिता दिवा–रात्रि समयमा आयोजना हुनेछ । विराटनगरस्थित नोबेल मेडिकल कलेजको मुख्य प्रायोजन रेहको विराट गोल्डकपको प्रवद्र्धनमा कोशी प्रदेश सरकार, विराटनगर महानगर, राष्ट्रिय खेलकुद परिषद् रहेका छन् । ०१८ सालबाट सुरु भएको महेन्द्र गोल्डकप ०६७ र ०६८ सालपछि विराट गोल्डकपमा रूपान्तरण भएको थियो । तर, ट्रस्टले भने यसपटकबाट विराट गोल्डकपलाई पुरानै अवस्थाबाट अघि बढाउने गरी ३८औँ संस्करणका रूपमा गणना गर्ने जनाएको छ ।