बादलको अभिव्यक्तिले एमाले संस्थापनइतर तरंगित

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

एमाले कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलको पछिल्लो अभिव्यक्तिबाट संस्थापनइतर पक्ष नेताहरू तरंगित बनेका छन् । पार्टीको नेतृत्व गरिरहेका बादलले पार्टीकै नीतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै इतर पक्षका नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, खिमलाल भट्टराईलगायत नेताहरूले प्रतिवाद गरेका छन् । बुधबार पोखरामा आयोजित पार्टी कार्यक्रममा बादलले आफूले संसद्मा पार्टी नीतिअनुसार नै अभिव्यक्ति दिए पनि उपाध्यक्षले सार्वजनिक रूपमा विरोध गरेर दक्षिणपन्थी प्रवृत्ति उजागर गरेको भन्दै विष्णु पौडेललक्षित टिप्पणी गरेका थिए । उनको त्यही अभिव्यक्तिको इतर पक्षका नेताहरूले सामाजिक सञ्जालबाट प्रतिवाद गरेका हुन् । 

सचिव पद्ममा अर्यालले कार्यवाहक अध्यक्ष बादलले पछिल्लोपटक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे आफू जानकार नभएको बताइन् । कुनै त्यस्तो विषय भए पार्टीकै बैठकहरूमा सल्लाह र छलफल गरिने उनको भनाइ छ । ‘के बोल्नुभो मलाई थाहा छैन, उहाँसँग भेट पनि भएको छैन, केही छलफलकै विषय रहेछ भने सल्लाह गर्छौँ, पार्टीभित्रै छलफल गर्छौँ, तर मैले कुनै पनि विषय बुझेको छैन,’ अर्यालले नयाँ पत्रिकासँग भनिन् ।

उपमहासचिव भट्टराईले कार्यवाहक अध्यक्ष बादलको पछिल्लो अभिव्यक्तिबारे प्रतिक्रिया दिन चाहेनन् । यद्यपि, उनले सामाजिक सञ्जालमा बादलको पछिल्लो अभिव्यक्तिलाई नै व्यंग्य गर्दै कविता पोस्ट गरेका छन् । ‘बादल मडारियो । मुसलधारे वर्षा भयो । जबज निथ्रुक्कै भिज्यो । मदन तीन छक्क पर्नुभयो । हामी हेरेको हेर्यै भयौँ ! (स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)’ भट्टराईले यसरी कविता लेखेका छन् ।

पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले बादलले जबजको नीतिविपरीत अभिव्यक्ति दिएर तत्कालीन माओवादीको जनयुद्धको भाष्य निर्माण गर्न खोजेको टिप्पणी गरेका छन् । ‘हामीले स्पष्ट हुनुपर्छ– माओवादी जनयुद्धको भाष्य एमालेको आधिकारिक भाष्य होइन र हुन सक्दैन । एमालेको मूल बाटो जनताको बहुदलीय जनवाद (जबज) हो, जसले शान्तिपूर्ण प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता र जनताको मतलाई नै परिवर्तनको अन्तिम आधार मान्छ,’ पाण्डेले लेखेका छन्, ‘पार्टीभित्र विभिन्न पृष्ठभूमिबाट आउनुभएका साथीहरूको आफ्ना भोगाइ र बुझाइ हुन सक्छन्, तर जब हामी एमालेको झन्डामुनि गोलबद्ध हुन्छौँ, तब हाम्रो बोली र व्यवहार पार्टीको दस्ताबेजसँग मेल खानुपर्छ । संसद्मा वा सार्वजनिक मञ्चमा व्यक्त हुने व्यक्तिगत भावनाहरूलाई ‘पार्टी लाइन’ भनेर व्याख्या गर्दा त्यसले कार्यकर्तामा भ्रम र जनतामा अविश्वास मात्र पैदा गर्छ । त्यसमाथि यस्ता अतिवादी र उग्र दृष्टिकोणले हाम्रो पार्टीलाई समयको गतिसँगै अगाडि लैजानुको साटो झन् पछाडि धकेल्नेछन् ।’

अर्का नेता खिमलाल भट्टराईले कार्यवाहक अध्यक्ष बादलबाट एमालेको नेतृत्व सम्भव नभएको भन्दै अध्यक्ष केपी ओली र केन्द्रीय सचिवालयको ध्यानाकर्षण गराएका छन् । ‘हामी कब्जा होइन, जनताको मन जितेर प्रतिस्पर्धामा श्रेष्ठ हुन्छौँ, कब्जा हाम्रो नीति होइन । हामीले आक्रमण होइन, शान्तिपूर्ण संघर्षबाट विजयलाई सुनिश्चित गर्छौँ । हामी प्रतिस्पर्धा गर्छौँ दुस्मनी गर्दैनौँ । एमालेको संघर्षको नीति यो हो । कार्यवाहक अध्यक्षज्यूलाई सिकाउन खोजेको बिल्कुल होइन, उहाँको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन मात्रै भन्न खोजेको हुँ । उहाँले न पार्टीको अवस्था, न दृष्टिकोण दुवै बुझेको देखिएन । फर्स्टम्यानको पगरी धान्न नसक्ने पक्का भयो,’ भट्टराईले लेखेका छन् ।

See More On

सुझावित समाचार