नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन आयोजना गर्ने भएको छ । यस वर्षको १२औँ शिखर सम्मेलन २७ चैतदेखि २९ सम्म काठमाडौंंमा आयोजना गर्न लागिएको हो ।
सम्मेलनमा नसर्ने रोग, प्रजनन स्वास्थ्य, मातृ, नवजात तथा बाल स्वास्थ्य र परिवार नियोजन, मानसिक स्वास्थ्य, स्वास्थ्य सुशासन, स्वास्थ्य वित्त तथा जनशक्ति, संक्रामक रोग, महामारी तयारी तथा विपत् व्यवस्थापन, चिकित्सकीय विज्ञान, आयुर्वेद तथा परम्परागत चिकित्सा, वातावरणीय तथा पेसागत स्वास्थ्य, जलवायु परिवर्तन, स्वास्थ्य सेवा पहुँचमा असमानता, स्वास्थ्यका सामाजिक निर्धारकहरू, स्वास्थ्य शिक्षा तथा प्रवर्द्धन, पोषण तथा खाद्य सुरक्षा, बसाइँसराइ र स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य तथा औषधिमा पहुँचलगायत मुद्दामा अन्तरक्रिया र अनुभव आदानप्रदान तथा रिपोर्ट प्रस्तुत गरिनेछ ।
सम्मेलनको मुख्य नारा ‘नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया’ भन्ने रहेको छ । यस सम्मेलनले राष्ट्रिय तथा विश्वव्यापी स्वास्थ्य चुनौतीहरूको समाधानका लागि अनुसन्धान, नीति र अभ्यासबिचको सम्बन्ध सुदृढ पार्ने एनएचआरसीका कार्यकारी प्रमुख तथा सदस्यसचिव डा. प्रमोद जोशीले बताए ।
उनका अनुसार सम्मेलनमा नीति निर्माता, अनुसन्धानकर्ता, विश्वविद्यालय, विकास साझेदारहरू एउटै मञ्चमा हुनेछन् । जहाँ स्वास्थ्य क्षेत्र र यसको अनुसन्धान क्षेत्रबारे विचार, अनुभव र नवीनतम प्रयोगहरू साटासाट गरिनेछ । ‘जटिल रोग र स्वास्थ्य क्षेत्रमा समस्याको खोज्न यस्तो सम्मेलनले मद्दत गर्छ,’ डा. जोशीले भने, ‘अन्य मुलुकमा स्वास्थ्य सेवा कुन स्तरको छ, कस्ता रोगहरू छन् लगायतबारे अनुभव साटासाट हुन्छ, साथै स्वास्थ्यमा एआईको प्रयोगको अभ्यासबारे पनि ज्ञान आदानप्रदान हुनेछन् ।’
सम्मेलनमा एक हजार दुई सयभन्दा धेरै नेपालका स्वास्थ्य तथा विज्ञान क्षेत्रका विज्ञ र दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ । जसमा बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अस्ट्रेलिया, कोरिया तथा युरोपका प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनका लागि कुल ४६५ वटा प्रस्तुतिहरू रहनेछन् । जसमध्ये ९१ वटा मौखिक र १२० वटा पोस्टर प्रस्तुतीकरण हुनेछन् । तीनदिने कार्यक्रममा एउटा मुख्य, ३५ वटा बाहिरबाट आउने विज्ञ र अन्य यहीँका विज्ञको प्रस्तुति रहेछन् ।