उपसभामुखको निर्वाचन २७ चैतमा हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी गराएका हुन् । निर्वाचन कार्यक्रमअनुसार बिहीबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ७ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ । जसअनुसार सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन हुन लागेको हो । उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्थाअनुसार सभामुख अर्यालले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् ।
सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने संवैधानिक प्रावधान छ । तर, प्रतिनिधिसभामा एउटै दलको मात्रै प्रतिनिधित्व भएको वा एकभन्दा बढी दल भए पनि एकल उम्मेदवारी परेको अवस्थामा सभामुख र उपसभामुख दुवै एउटै दलको पनि हुन सक्दछ ।
प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् । प्रतिनिधिसभामा रास्वपा दुईतिहाइनजिक छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच सांसद छन् ।
संसदीय अंकगणितअनुसार उपसभामुखमा रास्वपाले जुन दलको उम्मेदवारलाई समर्थन गर्छ उसैले जित्ने सम्भावना छ । उपसभामुखमा राप्रपा, श्रम संस्कृति पार्टी र नेकपाले उम्मेदवारी दिने तयारी गरेका छन् । रास्वपाले जसलाई सहयोग गर्यो उसैले जित्ने अवस्थाका कारण कांग्रेस र एमालेले उम्मेदवारीप्रति रुचि राखेका छैनन् । एमाले सांसद गुरु बरालले आफ्नो पार्टीले उपसभामुखमा उम्मेदवारी नदिने बताए ।