सुनकोशी–मरिणको ठेक्का ९० दिनभित्र लगाइने

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया ९० दिनभित्र सम्पन्न गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रतिबद्धता जनाएका छन् । ७३औँ सिँचाइ दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

गत ८ मंसिरमा तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङको अग्रसरतामा मरिणको ठेक्का सम्झौता तोडिएको थियो । आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल—रमण जेभीसँग ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । त्यस्तै, भेरी–बबई आयोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको मन्त्री श्रेष्ठले बताए । सिक्टा, भेरी–बबई, रानी जमरा कुलरिया र सुनकोशी–मरिणजस्ता सिँचाइ आयोजना अलपत्र अवस्थामा नछोडिने उनले प्रतबिद्धता जनाए । 

त्यस्तै गण्डक, नारायणी, बागमती, सुनसरी–मोरङ जस्ता ठूला सिँचाइ प्रणालीको मर्मत, पुनर्स्थापना र व्यवस्थापकीय सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । मन्त्री श्रेष्ठले भने, ‘वास्तविक अवरोध कहाँ छन् ? त्यसको जानकारी दिनुहोस् हामी समाधानको प्रयास गर्नेछौँ ।’ अबका दिनमा सिँचाइ खेतमा पानी पुर्याउने माध्यमका रूपमा मात्र नहेरेर पानीलाई ऊर्जा, खाद्य सुरक्षा, वातावरण र जीविकोपार्जनलाई समेत जोड्ने गरी एकीकृत प्रणालीको व्यवस्था गरिने मन्त्री श्रेष्ठको भनाइ छ ।

सुझावित समाचार