नयाँ शैक्षिक सत्रबाटै गेटामा चिकित्सा शिक्षाको पढाइ

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

शिक्षामन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित सहिद दशथरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रमा चिकित्सा शिक्षाको पठनपाठन सुरु हुने बताएका छन् । उनले यो विश्वविद्यालय सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

‘शिक्षा र स्वास्थ्य सरकारको प्राथमिकतामा छ । त्यसमाथि गेटा उच्च प्राथमिकतामा रहेकाले आगामी शैक्षिक सत्रबाट यहाँ कुनै पनि हालतमा पठनपाठन सुरु गर्छौँ,’ बुधबार गेटामा बसेको विश्वविद्यालयको सभापछि पोखरेलले भने, ‘त्यसका लागि आर्थिक पाटोले अप्ठेरो नहोस् भनेर प्रधानमन्त्रीले निर्देशन दिइसक्नुभएको छ ।’

सुदूरपश्चिममा अस्पतालदेखि चिकित्सा शिक्षाको अभाव रहेकाले सरकारले गेटामा विश्वविद्यालय सञ्चालनलाई प्राथमिकतामा राखेको उनले बताए । विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलको अध्यक्षतामा विश्वविद्यालय सभा बसेको हो । विश्वविद्यालयका यसअघिका चारवटा सभा काठमाडौँमा बसेकोमा बुधबार पहिलोपटक गेटामा बसेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीले आगामी शैक्षिक सत्रमा चारवटा विधामा पठनपाठनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएको जानकारी दिए । उनले एमबिबिएसमा ५० सिट, बिएस्सी नर्सिङमा ३० सिट तथा बिएस्सी एमएलटी र बी अप्टोमेट्रीमा २०/२० सिटको अनुमति मागेको बताए ।
आउँदो शैक्षिक सत्रमा यी कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने विषयमा सभामा छलफल भएको जोशीले बताए । ‘विश्वविद्यालयका तीन क्षेत्र चिकित्सा सेवा, शिक्षा र अनुसन्धानलाई कसरी अगाडि लैजाने भन्ने विषयमा छलफल भयो,’ उनले भने, ‘अर्को वर्षबाट शैक्षिक पठनपाठन सुरु गर्छौँ ।’ त्यस्तै तीन सय सय्याको शिक्षण अस्पताल सञ्चालन गरिने उनले बताए ।  विश्वविद्यालय सभाका सदस्य गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले आगामी वर्ष शिक्षण अस्पताल सञ्चालनसँगै पठनपाठन सुरु गर्ने निर्णय सभाले गरेको बताए । सभाले चालू वर्षको लागि विश्वविद्यालयको ४९ करोडको बजेट पारित गरेको छ । 

See More On

सुझावित समाचार