हेटौँडा कपडा उद्योग सञ्चालन गर्न सांसद उप्रेतीको माग

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मकवानपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद उप्रेतीले हेटौँडा–८ स्थित कपडा उद्योग सञ्चालनको प्रतीक्षामा रहेको र त्यसका लागि सरकारको ठोस निर्णय आवश्यक रहेको बताए।

उनले केही समयअघि गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका पोसाक नेपालमै उत्पादन गर्ने घोषणा गरेको विषय स्मरण गराउँदै उक्त कार्यको सुरुवात हेटौँडा कपडा उद्योगबाट गर्न सकिने धारणा राखे।

‘नेपाल प्रहरीको पोसाक स्वदेशमै उत्पादन गर्ने हो भने हेटौँडा कपडा उद्योग सञ्चालन गर्नु उपयुक्त हुन्छ,’ उनले भने, ‘सरकारले आवश्यक कदम चालेर उद्योग पुनः सञ्चालनमा ल्याउनुपर्छ।’

२०५७ माघ १८ देखि बन्द भएको उद्योग २०५९ सालमा पहिलोपटक खारेजीको प्रक्रियामा लगिएको थियो। त्यसपछि आर्थिक वर्ष ०६५–६६ मा सरकारले उद्योग पुनःसञ्चालनको निर्णय गरेको थियो। सामान्य मर्मतसम्भारपछि उद्योगले २०६६ सलामा परीक्षण उत्पादन गरे पनि पुरानै अवस्थामा सञ्चालन गर्न नसकिने निष्कर्षसहित २०६६ कात्तिक ११ गते दोस्रोपटक खारेजीको निर्णयसँगै उद्योग बन्द भयो।

हाल बन्द रहेको कपडा उद्योग नयाँ व्यवस्थापनसहित पुनः सञ्चालनमा ल्याउन सके रोजगारी सिर्जना हुनुका साथै स्वदेशी उत्पादनलाई प्रवर्द्धन हुने सांसद उप्रेतीले बताए।

सुझावित समाचार