जेन–जी आन्दोलनमा लापरबाही गरेर आन्दोलनकारीको ज्यान लिएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई मुद्दा दायर गर्ने कि हाजिरी जमानीमा छाड्ने भन्ने विषयमा प्रहरीले परामर्श अघि बढाएको छ ।
सर्वाेच्च अदालतले बुधबारभित्र अनुसन्धान सकेर मुद्दा दायर नभएमा उनीहरूलाई थुनामुक्त गर्न सोमबार परमादेश दिएको हो । बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वाेच्चले उनीहरूलाई अब म्याद थप नगर्न परमादेश दिएसँगै आज मुद्दा दायर नभए उनीहरूलाई छाड्नुपर्ने हुन्छ ।
यस विषयमा आफूहरू परामर्शमै रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराई बताउँछन् । सरकारी वकिल कार्यालयसँगको छलफलपछि मुद्दा दायर गर्ने वा हाजिरी जमानीमा छाड्ने भन्ने निर्णय हुने उनको भनाइ छ ।
ओली र लेखक गत १४ चैतमा पक्राउ परेका हुन्। उनीहरूको बयान पूरा भइसकेको छ। अनुसन्धान पूरा भएमा सरकारी वकिलले आजै अदालतमा मुद्दा दायर गर्न सक्छ । तर, अनुसन्धान नटुंगिएकामा भने थुनाबाहिर राखेर थप अनुसन्धान गर्न सर्वाेच्चले भनेको थियो।
बयान सम्पन्न भइसकेको, सोही मुद्दामा पक्राउ परेका सहसचिव छवि रिजाललाई हाजिरी जमानीमा छाडिएको, ओली र लेखक दुवै आशौचमा रहेको, ओली बिरामी रहेकाले अनुसन्धान छिटो टुंग्याउन सर्वाेच्चले भनेको हो ।
ओली र लेखक गत १४ चैतमा पक्राउ परेका हुन्। सुरुमा उनीहरूलाई अदालतले पाँच दिन थुनामा राख्न म्याद दिएको थियो। त्यसपछि दुई दिन थप भयो। आइतबार थप पाँच दिन म्याद थप भएको थियो। सर्वाेच्चको परमादेशअनुसार बुधबारपछि थप म्याद गर्न प्रहरीले नपाउने भएको हो । परमादेशमा भनिएको छ, ‘काठमाडौं जिल्ला अदालतबाट २०८२–१२–२२ मा भएको आदेशअनुसारको समयावधिमा अनुसन्धान कार्य सम्पन्न भई मुद्दा चल्ने–नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रोपटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नू–गराउनू भनी प्रत्यर्थीहरूका नाममा परमादेशको आदेश जारी गरिएको छ ।’
आजै मुद्दा दायर भएमा अदालतको बयान र थुनछेकका कारण उनीहरू थप केही दिन थुनामा रहन सक्छन्। तर, अनुसन्धान नसकिएमा भने हाजिरी जमानीमा छाडेर प्रहरीले अनुसन्धान अघि बढाउनुपर्ने हुन्छ ।