प्रीतिले क्याम्बोडियन महिला लिग खेल्ने

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने भएकी छिन् । प्रीतिले प्रेह खान रिच स्वाय रिएङ एफसीसँग सम्झौता गरेको जनाएकी छिन् । प्रेह खान रिच सन् २०२० मा सुरु भएको क्याम्बोडियन महिला लिगको पहिलो संस्करणका संयुक्त विजेता हो । क्लबले कम्बोडियाको शीर्ष डिभिजनको लिग कम्बोडियन महिला लिग खेल्छ । लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रीति यसअघि जोर्डनको लिगमा इतिहाद क्लबमा आबद्ध थिइन् । उनको यो तेस्रो विदेशी क्लब हो । यसअघि उनले इतिहादबाहेक भारतको किक स्टार्ट्स क्लबबाट पनि इन्डियन महिला लिग खेलेकी थिइन् । इतिहादमा एक सिजन बिताएकी उनले एक गोलसमेत गरेकी थिइन् । इतिहादमा रहँदा उनले महिला प्रो–लिग र जोर्डन महिला कप दुवै उपाधि जितेकी थिइन् ।

नेपाली महिला टोलीमा प्राविधिक खेलका लागि परिचित प्रीति परिचित छिन् । सन् २०२१ मा नेपाली राष्ट्रिय टोलीमा १६ वर्षको उमेरमा डेब्यु गरेर गोलसमेत गरेकी प्रीति घरेलु फुटबल एपिएफ क्लबबाट खेल्छिन् । नेपाली राष्ट्रिय टोलीबाट उनले २१ खेलमा पाँच गोल गरेकी छिन् । सन् २०२४ को सिजनमा उनले चार तथा सन् २०२१ मा एक अन्तर्राष्ट्रिय गोल गरेकी थिइन् । 

सुझावित समाचार