शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले धनगढीको फाप्ला क्रिकेट मैदानको निरीक्षण गरेका छन् । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको भोलि हुने सभामा सहभागी हुन धनगढी आइपुगेका मन्त्री पोखरेलले फाप्लाको निरीक्षण गरेका हुन् ।
फाप्लामा मन्त्री पोखरेलले एकछिन क्रिकेट खेले । मन्त्री पोखरेलले ब्याटिङ गर्दा सांसद केपी खनालले बलिङ गरे । मन्त्रीले त्यहाँ क्रिकेट खेलिरहेका बालबालिकासँग तस्बिर पनि खिचाए । सरकारले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम बनाउने घोषणा विगतमा गरेको थियो । त्यसको डिपिआर बने पनि पनि पूर्वाधार निर्माणको सुरुवात हुन सकेको छैन ।
सरकारले गठन गरेको पूर्वाधार विकास समितिले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला तथा खेलग्रामको डिपिआर तयार पारेको छ । निरीक्षणका क्रममा समितिका अध्यक्ष सुवास शाहीले मन्त्री पोखरेललाई डिपिआरबारे जानकारी गराएका थिए ।
निरीक्षणपछि पोखरलले फाप्ला क्रिकेट मैदान निर्माणलाई सरकारले प्राथमिकता दिने बताए । मन्त्रीसँगै कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद केपी खनाल, क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद डा. आनन्दबहादुर चन्दलगायत सहभागी थिए । शिक्षामन्त्री पोखरेल आज कञ्चनपुर जाँदै छन् ।