नेपाली भेट्रान टेनिस खेलाडी सीमान्त गुरुङले एनसिटिसी आइसिएस युनिटी गेम्समा दोहोरो स्वर्ण जितेका छन् । अस्ट्रेलियाको मेलबर्नमा भएको प्रतियोगितामा सीमान्तले भेट्रान ३५ वर्षमाथि पुरुष एकल र डबल्समा स्वर्ण जितेका हुन् ।
नेपाली कम्युनिटी टेनिस क्लब (एनसिटिसी)द्वारा आयोजित प्रतियोगिताको एकलमा सीमान्तले अनुप गुरुङलाई हराएका थिए । डबल्समा सीमान्तले अशोक गुरुङसँग मिलेर अनुप गुरुङ र कुमार खत्रीको जोडीलाई पाखा लगाए ।
इन्टरमिडिएट एकलमा दीपेश घिमिरेले भीष्म गौतमलाई पाखा लगाउँदै विजेता बने । विजेतालाई एनसिटिसीका अध्यक्ष केशव खत्रीलगायतले एक कार्यक्रमबिच पुरस्कार वितरण गरे ।
अध्यक्ष खत्रीले नेपाली टेनिस समुदायलाई जोड्ने लक्ष्यका साथ प्रतियोगिताको सुरु गरिएको बताए । आयोजक क्लबका सचिव भीष्म गौतमले भविष्यमा अझ ठुला कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको बताउँदै प्रतियोगिताले नेपाली खेलकुद समुदायमा एकता र उत्कृष्टताको नयाँ सन्देश दिने विश्वास व्यक्त गरे ।