- क्यान र त्रिभुवन विश्वविद्यालयबिच १ वैशाख ०५९ देखि ०८३ वैशाखसम्म त्रिवि मैदान प्रयोग गर्ने सम्झौता भएको थियो
नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदानको सम्झौता नवीकरण गर्ने समझदारीको प्रक्रिया अगाडि बढाएको छ । क्यानको सोमबार बसेको कार्यसमितिको बैठकले त्रिवि मैदानको नवीकरण गर्न{ सम्बन्धित निकायसँग आग्रह गरिएको प्रवक्ता छुम्बी लामाले बताए । त्रिविसँग मैदानको नवीकरण गर्ने प्रस्ताव राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयलगायतका सरोकारवाला निकायलाई क्यानले पठाउने उनले बताए ।
‘बोर्ड बैठकले त्रिवि मैदानसँगको सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ । राखेप र युवा तथा खेलकुद मन्त्रालयलगायतका सरोकारवाला निकायलाई हामी पत्र पठाउँनेछौँ,’ उनले भने । क्यानले प्रयोग गरिरहेको त्रिवि क्रिकेट मैदानको सम्झौता अर्को महिना सकिँदै छ । ‘क्यान र त्रिभुवन विश्वविद्यालयबिच भएको सम्झौताको समय ०८३ को वैशाखमा सकिँदै छ,’ लामाले भने, ‘यो समयभन्दा अगाडि नै सम्झौता हुने विश्वास छ ।’ क्यान र विश्व विद्यालयबिच ०५९ को वैशाख १ देखि ०८३ वैशाखसम्मको २५ वर्षका लागि त्रिवि मैदान प्रयोग गर्ने भनी सम्झौता भएको थियो ।
त्रिवि र क्यानबिच सुरुका तीन वर्षमा वार्षिक तीन लाख रुपैयाँ तिर्ने सहमति भएको थियो । त्यसपछि पाँच वर्षमा भाडा वृद्धी गर्ने उल्लेख गरिएको थियो । सुरुको ३ वर्ष क्यानले वार्षिक ३ लाख रुपैयाँ भाडा दिँदै आएको थियो । तर तेस्रो वर्षपछि भने क्यानले वार्षिक ९ लाख रुपैयाँ भाडा त्रिविलाई दिँदै आएको छ । मैदानका लागि आवश्यक भौतिक संरचना सबै क्यानले नै बनाउनुपर्ने सम्झौतामा उल्लेख छ ।
त्रिविले क्रिकेट हुँदा हल्ला भएको र विश्वविद्यालयको वातावरण बिग्रिएको भन्दै सम्झौता थप गर्न चाहिरहेको छैन । क्यानले सरकारको प्राथमिकतामा त्रिवि मैदान रहेकाले सम्झौता थप हुनुपर्ने माग गर्दै आएको छ । मैदानमा राज्यको ठुलो लगानी भइसकेको र नेपाली क्रिकेटको मुख्य केन्द्र भएकाले सम्झौता नवीकरण हुनुपर्ने प्रवक्ता लामाले बताए । ‘यस मैदानमा राज्यको पनि ठुलो लगानी भइसकेको छ । नेपालमा एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता गराउने त्रिवि मैदान नै हो,’ उनले भने, ‘फ्लडलाइटसहित १० हजार दर्शक क्षमताको रंगशाला निर्माण भइसकेको छ । यसमा क्यानले भन्दा पनि सम्बन्धित निकायले हेर्नुपर्छ ।’ १९ चैतमा क्रिकेट मैदानको भाडा सम्झौता नमिलेको र विश्वविद्यालयको हितविपरीत भएको जनाउँदै त्यसको पुनरावलोकन गर्न भन्दै त्रिभुवन विश्व विद्यालय क्रिकेट संघले सातबुँदे माग राखेको थियो ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट संघका पूर्वअध्यक्ष तथा बागमती क्रिकेट संघका निर्देशक अनिल अधिकारी प्रक्रियागत ढंगले सम्झौता हुनपर्ने बताए । ‘खेल र खेलाडीलाई समस्या पार्न खोजेका होइनौँ, तर केवल सम्झौता प्रक्रियागत ढंगले अघि बढोस् भने माग हो,’ अधिकारीले सातबुँदे माग बुझाउन भनेका थिए ।
मैदानबाट हुने आम्दानी तथा रोयल्टीमा त्रिभुवन विश्वविद्यालयलाई पनि भागीदार बनाई त्रिविको खेलकुद विज्ञान विभाग तथा खेलकुद विकासका लागि प्रयोग हुनुपर्नेसहितका संघको माग रहेको छ । यसैबिच, सरकारले त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने योजना बनाइसकेको छ । प्यारापिट र फ्लडलाइट निर्माणका लागि बोलपत्रसमेत स्वीकृत भइसकेको अवस्था छ ।
‘मैदान नेपाली क्रिकेट खेलको विकासका लागि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार सम्झौता अवधि थपका लागि तथा हाल राष्ट्रिय खेलकुद परिषद्मातहत सञ्चालनमा रहेको तल्लो मूलपानी क्रिकेट मैदान यस संघलाई हस्तान्तरण गरिदिनका लागि राष्ट्रिय खेलकुद परिषद्मार्फत नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरिएको छ,’ क्यानको बैठकले निर्णय गरेको छ । यसअघि १७ सदस्यीय निर्वाचित कार्यसमितिमध्ये उपाध्यक्ष रोशन सिंहसहित आठजना सदस्यले बैठक बहिष्कार गरेका थिए । उनीहरूले दोस्रो एनपिएलको हिसाब अध्ययन गरेर मात्र पास गर्ने अडान राखेका थिए ।
दोस्रो एनपिएलबाट क्यानको आम्दानी नौ करोड २१ लाख
क्यानको केन्द्रीय कार्यसमितिको बैठकले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आयव्यय विवरण अनुमोदन गरेको छ । जसअनुसार क्यानले नौ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ ५ पैसा खुद आम्दानी गरेको छ । क्यानले सार्वजनिक गरेको एनपिएलको आयव्यय विवरणअनुसार क्यानलाई ग्रस रेभिन्यु ४७ करोड ३६ लाख पाँच सय ५९ रुपैयाँभन्दा बढी आम्दानी भएको थियो । १ देखि २७ मंसिरसम्म भएको दोस्रो एनपिएल आयोजना गर्न क्यानले २१ करोड ९६ लाख रुपैयाँ खर्च गरेको थियो । यसबाट कुल नाफा २५ करोड ३९ लाख रुपैयाँ भएको छ । एनपिएलको कुल आम्दानीमा टिकेटिङ, ब्रोडकास्टिङ र मार्केटिङको ३२ करोडभन्दा बढी रुपैयाँ र बाँकी १५ करोड रुपैयाँ फ्रेन्चाइजको वार्षिक रकम समावेश रहेको छ । ‘टिकेटिङ, ब्रोडकास्टिङ र मार्केटिङबाट उठेको कुल रकमको ५० प्रतिशत १६ करोड १८ लाख ७३ हजार पाँच सय रुपैयाँ एनपिएलका सहभागी आठ फ्रेन्चाइज टोलीले प्राप्त गर्नेछन्,’ क्यानले जनाएको छ ।
क्यानको साधारणसभा विराटनगरमा हुने
क्यानले वार्षिक साधारणसभा ०८३ वैशाख २७ र २८ गते विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ । क्यानले चारवर्षे कार्यकाल सकिएका २० जिल्लाका क्रिकेट संघहरूको कार्यकाल जेठ मसान्तसम्म थप गर्ने र सो अवधिभित्रै निर्वाचन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको प्रवक्ता लामाले बताए । ०८३ जेठ मसान्तभित्र निर्वाचन सम्पन्न गर्ने गरी मिति तय गरी यस संघमा जानकारी गराएपश्चात् जेठ मसान्तभित्र अनिवार्य रूपमा निर्वाचन सम्पन्न गर्नका लागि संघबाट पत्राचार गर्ने निर्णय भएको क्यानले जनाएको छ । केन्द्रीय कार्यालय मूलपानीमा बसेको बैठकले क्यानको सन् २०२६ को वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गर्ने निर्णय गरेको छ । यसैबिच आइसिसीको निर्देशन बमोजिम क्यान वार्षिक रूपमा प्राप्त हुने बजेटबाट महिला क्रिकेट खेलको विकासको लागि ५ लाख डलर लगानी गर्नुपर्ने भएको हुँदा यस वर्षदेखि समग्र महिला क्रिकेटको विकासमा पाँच लाख डलर लगानीको व्यवस्था गर्ने निर्णय पनि क्यानले गरेको छ ।