दोस्रो त्रैमासमा ४.०५% आर्थिक वृद्धि

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण
  • वर्गीकरण गरिएका १८ वटै औद्योगिक क्षेत्रमा सकारात्मक वृद्धि भएको अनुमान, यद्यपि निर्माण क्षेत्र कमजोर, धान उत्पादनमा कमी र केही वस्तुको घरेलु उत्पादन घट्नुका कारण आर्थिक वृद्धिदर सामान्य

चालू आर्थिक वर्ष ०८२/८३ को दोस्रो त्रैमासमा नेपालको अर्थतन्त्र करिब ४.०५ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकको आँकडाअनुसार अघिल्लो आर्थिक वर्ष ०८१/८२ को सोही अवधिको तुलनामा यस्तो वृद्धि देखिएको हो । पहिलो त्रैमासमा यस्तो वृद्धिदर ३.२४ प्रतिशत थियो । 

त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)सम्बन्धी प्रारम्भिक तथ्यांकअनुसार विद्युत् उत्पादन, बैंक तथा वित्तीय क्षेत्र, बिमा, कृषि उत्पादन, व्यापार, पर्यटनलगायतका क्षेत्रमा वृद्धि भएकाले समग्र आर्थिक गतिविधि बढेको देखिएको छ । प्रस्तुत गरिएका १८ वटा औद्योगिक वर्गीकरणमध्ये सबै क्षेत्रमा सकारात्मक वृद्धि भएको अनुमान गरिएको छ । यद्यपि, निर्माण क्षेत्र कमजोर भएको, धान उत्पादनमा कमी र केही वस्तुको घरेलु उत्पादन घट्नुका कारण आर्थिक वृद्धिदर भने सामान्यस्तरमै देखिएको छ ।

कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेका अनुसार अहिले देखिएको आर्थिक वृद्धिको तथ्यांकले आर्थिक गतिविधि सामान्य बन्दै गएको देखाएको छ । उनले भने, ‘जेन–जी आन्दोलनको प्रभाव पहिलो त्रैमासमा देखिएको थियो । अहिलेको त्रैमासमा छैन । हामीले जिडिपीमापन प्रोडक्सन एप्रोचबाट गर्ने भएकाले आन्दोलनले केही उद्योग र उत्पादनमा मात्रै अलि–अलि असर गरेको हो, ठुलो असर परेको होइन । अहिलेको त्रैमासमा भने सुधार देखिएको छ ।’

उनका अनुसार १८ वटा सेक्टरमध्ये ६ वटा सेक्टरले अर्थतन्त्रलाई माथि तानेको छ । ‘यातायात सेवा, पर्यटन आगमन, आवास तथा होटेल, कृषिमा फलफूल, तरकारी र वन पैदावारको उत्पादन बढेको छ,’ उनले भने, ‘तर, कृषि क्षेत्रमा अपेक्षित वृद्धि हुन सकेको छैन । कृषिमा जति बढ्नुपर्ने हो, त्यति बढेन । मुख्य कारण धान उत्पादन घट्नु हो । धान घटे पनि समग्र कृषि क्षेत्र बढेको छ ।’ 

उनका अनुसार निर्माण क्षेत्र भने अझै सुधार हुन सकेको छैन । उनले भने, ‘निर्माण क्षेत्रमा सुधार हुन सकेन । किनभने, निर्माणसँग सम्बन्धित सामग्रीको आयात बढेन । ठेक्काहरू तोडिएका छन् । सरकारी पुँजीगत खर्च पनि कमजोर छ । त्यसले निर्माण क्षेत्र अगाडि बढ्न सकेन ।’ उनले निर्माण क्षेत्र चलायमान भए अर्थतन्त्र अझ सुधार हुने बताए ।

निर्माण क्षेत्र अगाडि बढ्नेबित्तिकै सिमेन्ट, डन्डी, निर्माण सामग्रीको माग बढ्ने कारण उद्योगको उत्पादन बढ्छ, आयात पनि बढ्छ । त्यसले समग्र अर्थतन्त्रलाई अझ माथि लैजाने उनको भनाइ छ । सरकारले पुँजीगत खर्च बढाउन सक्यो भने आर्थिक वृद्धि अझ राम्रो हुन सक्ने उनले बताए ।

मौसमी प्रभाव समायोजन गरेर हेर्दा भने चालू आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा अर्थतन्त्र २.०४ प्रतिशतले बढेको अनुमान गरिएको छ । पहिलो त्रैमासमा यस्तो वृद्धिदर १.२४ प्रतिशतले ऋणात्मक थियो । १८ मध्ये १६ वटा औद्योगिक क्षेत्रमा वृद्धि र दुई क्षेत्रमा संकुचन देखिएकाले समग्र अर्थतन्त्रमा सामान्य वृद्धि भएको देखिएको हो ।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी वृद्धि विद्युत् तथा ग्यास क्षेत्रमा देखिएको छ । यसको वृद्धिदर २२.७४ प्रतिशत रहेको अनुमान छ । त्यसपछि वित्तीय तथा बिमा क्षेत्र १२.५१ प्रतिशत, यातायात तथा भण्डारण ९.६५ प्रतिशत, होटेल तथा रेस्टुरेन्ट (आवास तथा भोजन) ५.१८ प्रतिशत र थोक तथा खुद्रा व्यापार ४.११ प्रतिशतले बढेको अनुमान गरिएको छ ।

देशको अर्थतन्त्रमा सबैभन्दा ठुलो योगदान दिने कृषि क्षेत्रको वृद्धिदर भने २.२१ प्रतिशत मात्र रहने अनुमान छ । धान उत्पादन घटे पनि पशुपक्षी, तरकारी, फलफूल र वन पैदावार उत्पादन बढेकाले कृषि क्षेत्रमा समग्र वृद्धि सकारात्मक रहेको देखिएको छ ।

अर्थतन्त्रको दोस्रो ठुलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्र ४.११ प्रतिशतले बढेको छ । स्वदेशी उत्पादन र आयात बढेकाले व्यापार क्षेत्र विस्तार भएको देखिएको हो । तर, पानी आपूर्ति, ढल तथा फोहोर व्यवस्थापन, सार्वजनिक प्रशासन, रक्षा, सामाजिक सुरक्षा र शिक्षा क्षेत्रमा भने निकै कम वृद्धि भएको अनुमान गरिएको छ । दोस्रो त्रैमासमा अर्थतन्त्र बढेको देखिए पनि वृद्धि दर भने मध्यमस्तरमै रहेको सरकारी प्रारम्भिक अनुमानले देखाएको छ । पानी आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापनमा ०.५५ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा तथा अनिवार्य सामाजिक सुरक्षामा १.११ प्रतिशत, शिक्षामा १.१६ प्रतिशतजस्ता क्रियाकलापमा न्यून वृद्धि भएको अनुमान छ ।
 

सुझावित समाचार