इरान युद्ध अन्त्य गर्न पाकिस्तानले गर्‍यो दुई चरणको वार्ता प्रस्ताव

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

पाकिस्तानले इरानमाथि अमेरिका–इजरायल युद्ध अन्त्य गर्न र हर्मुजको जलमार्ग पुनः खोल्न दुई चरणका योजना प्रस्ताव गरेको छ । प्रस्तावलाई दुवै पक्षले विचार गरिरहेको अलजजिराले जनाएको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार पाकिस्तानको कूटनीतिक प्रस्तावलाई स्वीकार गरेको बताए । रोयटर्सका अनुसार प्रस्तावमा  इरान र संयुक्त राज्य अमेरिकासँग शत्रुता अन्त्य गर्न योजना साझा गरिएको छ । अमेरिका र इजरायलबाट पछिल्ला आक्रमणबिच इरान आफ्नो सुरक्षामा केन्द्रित रहेको प्रवक्ता बघाईले बताए । तेहरानको एक शीर्ष विश्वविद्यालय र असालुयेहमा रहेको साउथ पार्स पेट्रोकेमिकल प्लान्टमा सोमबार बम विस्फोट हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको थियो ।

‘दुई चरणको सम्झौता’को एक अंशको रूपमा सम्भावित ४५ दिने युद्धविरामबारे पहिलोपटक आइतबार अमेरिका, इरान र क्षेत्रीय मध्यस्थकर्ताले छलफल गरेका अमेरिका, इजरायली र क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै एक्सियोस समाचार संस्थाले जनाएको छ ।  स्रोतले रोयटर्सलाई बताएअनुसार सम्झौतका लागि पाकिस्तानी सेना प्रमुख असिम मुनिर अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिव विटकफ र इरानी विदेशमन्त्री अब्बास अराघचीसँग ‘रातभर’ सम्पर्कमा थिए ।

प्रारम्भिक समझदारीको प्रस्तावलाई अन्तिम रूप दिन पाकिस्तानले निरन्तर प्रयास जारी राखेको छ । प्रस्तावअन्तर्गत युद्धविराम तत्कालै लागू हुने र हर्मुजको जलमार्ग पुनः खोल्न प्रयास गरिने उल्लेख छ । बृहत् सम्झौतालाई अन्तिम रूप दिन १५ देखि २० दिनको समय दिइनेछ । ‘इस्लामाबाद सम्झौता’ भनिने उक्त प्रस्तावमा हर्मुज जलमार्गका लागि क्षेत्रीय रूपरेखा समावेश हुनेछ, जसमा पाकिस्तानको राजधानीमा अन्तिम प्रत्यक्ष वार्ता हुनेछ । अन्तिम सम्झौतामा प्रतिबन्ध राहत र आणविक गतिविधि सञ्चालन नगर्ने इरानी प्रतिबद्धता समावेश हुने अपेक्षा गरिएको छ ।

यसैबिच, तेहरानले अस्थायी युद्धविरामको अंशको रूपमा हर्मुज जलमार्ग तत्काल नखोल्ने प्रतिक्रिया जनाएको एक वरिष्ठ इरानी अधिकारीले सोमबार रोयटर्सलाई बताए । उनले प्रस्तावको समीक्षा गर्दा समयसीमा स्वीकार नगर्ने पनि बताए । स्थायी युद्धविरामका लागि वासिंटनसँग पनि तयारीको अभाव रहेको ती अधिकारीले बताए । अमेरिकाले पाकिस्तानको योजनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । ‘पाकिस्तानी अधिकारीहरूले मलाई भनेका छन्, इस्लामाबाद उन्मत्त कूटनीतिमा संलग्न छ,’ अलजजिराका ओसामा बिन जाभेदले बताए ।

अमेरिकाको १५ बुँदे योजना तर्कहीन : तेहरान
विदेश मन्त्रालयका प्रवक्ता बाघाईले गत महिना अमेरिकाले राखेको १५बुँदे योजनालाई तेहरानले कहिल्यै स्वीकार नगर्ने बताए । उनले भने, ‘तेहरानले युद्ध अन्त्य गर्ने हालैका प्रस्तावबिच आफ्ना मागलाई अन्तिम रूप दिएको छ । तर, उपयुक्त भएमा मात्र ती प्रस्ताव सार्वजनिक गर्नेछ । १५ बुँदे अमेरिकी योजना पाकिस्तान र केही अन्य मित्र राष्ट्रमार्फत प्रतिबिम्बित भएको थियो । यस्ता प्रस्ताव अत्यन्तै महत्वाकांक्षी, असामान्य र तर्कहीन छन् ।’ बाघाईले इरानको आफ्नै ढाँचा रहेको कुरामा जोड दिए । ‘हाम्रा आफ्नै हित र  विचारका आधारमा हामीले हाम्रा मागलाई संहिताबद्ध गर्यौँ,’ उनले भने । विदेश मन्त्रालयका प्रवक्ताले मध्यस्थकर्तासँग संलग्न हुनुले कमजोरीलाई संकेत गर्छ भन्ने विचारलाई पनि अस्वीकार गरे ।

सुझावित समाचार