नयाँ शैक्षिक सत्रबाट गेटामा चिकित्सा शिक्षा पठनपाठनको तयारी

एमबिबिएस, बिएस्सी नर्सिङ, बिएस्सी एमएलटी र बी अप्टोमेट्री पढाइँदै, चिकित्सा शिक्षा आयोगसँग अनुमति माग

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आगामी शैक्षक सत्रबाट चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि विश्वविद्यालयले शैक्षिक जनशक्ति पदपूर्ति प्रक्रिया अगाडि बढाउनुका साथै चिकित्सा शिक्षा आयोगसँग पठनपाठनको अनुमति मागेको छ ।

एमबिबिएस, बिएस्सी नर्सिङ, बिएस्सी एमएलटी र बी अप्टोमेट्रीको पठनपाठन सुरु गर्ने तयारी भइरहेको विश्वविद्यालयका रजिस्ट्रार डा. खेमराज जोशीले जानकारी दिए । शैक्षिक जनशक्तिका लागि करार सेवामा २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापक नियुक्त गर्न दरखास्त आह्वान गरेको विश्वविद्यालयले आगामी महिना जनशक्ति छनोट प्रक्रिया सुरु गरिने जनाएको छ । ‘आगामी शैक्षिक सत्रबाटै चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने योजना छ,’ रजिस्ट्रार जोशीले भने, ‘जनशक्ति पदपूर्ति गर्ने, सरकारसँग बजेट माग गर्ने, चिकित्सा शिक्षा आयोगसँग अनुमति माग्ने प्रक्रियाहरू अगाडि बढाएका छौँ ।’ शैक्षिक कार्यक्रम सुरु गर्न चिकित्सा शिक्षा आयोगबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।    

गेटामा अहिले सञ्चालनमा रहेको ५० शङ्ढयाको अस्पताललाई तीन सय शङ्ढयाको शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्न प्रस्ताव पनि गरिएको जोशीले बताए । फिजियोलोजी, प्याथोलोजी, इएनटी, जनरल सर्जरी, एनेस्थेरियोलोजी, इन्टरनल मेडिसिन, अप्थाल्मोलोजी, मेडिकल एजुकेसन, फार्माकोलोजीलगायत विषयका जनशक्ति पदपूर्ति गर्न विश्वविद्यालयले गत ८ फागुनमै दरखास्त आह्वान गरेको थियो ।

अस्पताल र शैक्षिक कार्यक्रमका लागि प्रधानमन्त्री कार्यालय हुँदै अर्थ मन्त्रालयसँग आगामी वर्षका लागि दुई अर्ब ५८ करोड बजेट माग गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ । बजेट मागसम्बन्धी प्रस्ताव शिक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको बताइएको छ । प्रदेशबाट निर्वाचित सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत सरकारी अधिकारीसँग भेटेर विश्वविद्याल सञ्चालनको माग गरेका छन् । गत साता सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले गेटा विश्वविद्यालय सञ्चालनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

विश्वविद्यालय सञ्चालनमा सरकारसँग समन्वय गरिरहेका कैलाली ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले नयाँ शैक्षिक सत्रबाट गेटामा एमबिबिएसलगायत विषयको पठनपाठन सुरु गर्न सरकार सकारात्मक रहेको बताए । शैक्षिक कार्यक्रम र तीन सय शङ्ढयाको अस्पताल सञ्चालनका लागि आउने बजेटमा दुई अर्ब ५८ करोड रुपैयाँ विनियोजन गर्न अर्थ मन्त्रालयसँग पनि कुरा भइरहेको उनले बताए । ‘यो विश्वविद्यालयले स्वास्थ्य सेवा पहुँच विस्तार, दक्ष जनशक्ति उत्पादन, वैदेशिक पलायन न्यूनीकरण र क्षेत्रीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने कुरा बतायौँ । सुदूरपश्चिमका अरू सांसदले पनि यसमा सहमति जनाउँदै विश्वविद्यालय सञ्चालनमा जोड दिनुभयो,’ प्रधानमन्त्रीसँगको भेटबारे चन्दले भने, ‘प्रधानमन्त्रीले यसलाई छिट्टै अघि बढाउने भन्नुभएको छ ।’

यो नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय हो । सुदूरपश्चिम प्रदेशमा हालसम्म चिकित्सा शिक्षाको पठनपाठन हुने सरकारी र निजी क्षेत्रको एउटा पनि संस्था छैन । गेटामा पठनपाठन सुरु भएपछि स्वास्थ्य जनशक्ति उत्पादनसँगै स्वास्थ्य उपचार क्षेत्रमा ठुलो परिवर्तन हुने अपेक्षा गरिएको छ । विश्वविद्यालय पूर्ण रूपमा सञ्चालनमा आए सुदूरपश्चिमका बासिन्दाले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने वरिष्ठ चिकित्सक गणेशबहादुर सिंह बताउँछन् । यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने उनको भनाइ छ ।

सुदूरपश्चिममा सरकारीस्तरमा स्तरीय उपचार हुने अस्पताल नहुँदा बिरामीले उपचार गर्न काठमाडौं वा भारतका सहरहरू जानुपर्ने बाध्यता अझै कायम छ । प्रदेशको ‘रेफरल’ अस्पतालका रूपमा रहेको धनगढीको सेती प्रादेशिक अस्पतालमा तुलनात्मक रूपमा विशेषज्ञ सेवा छ । तर, क्यान्सरलगायत कतिपय रोगको उपचार सुविधा यहाँ पनि छैन । बिरामीको अत्यधिक चापले पनि सेतीमा सेवा प्रवाहमा समस्या देखिन थालेको छ । ‘विश्वविद्यालयमा विशेषज्ञ जनशक्ति हुन्छ । उपचारमा नयाँ प्रविधि र उपकरण हुन्छन् । नागरिकले गुणस्तरीय उपचार सेवा पाउँछन्,’ डा. सिंहले भने, ‘गेटामा पूर्ण क्षमतामा विश्वविद्यालय सञ्चालन भए उपचारका लागि अन्यत्र धाइरहनुपर्दैन । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुन्छ ।’ गेटामा चिकित्सा शिक्षाको पठनपाठन सुरु भए यहाँका विद्यार्थी चिकित्सा शिक्षा पढ्न अन्यत्र जानुपर्ने बाध्यता हट्नेछ । चिकित्सा शिक्षाका लागि सुदूरपश्चिममा छुट्टै कोटा तोक्नुपर्ने डा. सिंहले बताए । विपन्न जेहेनदार विद्यार्थीले पढ्न पाउने गरी सुदूरपश्चिमका लागि छात्रवृत्ति कोटा छुट्याइनुपर्ने उनको माग छ ।

गेटामा मेडिकल कलेजका नाममा पाँच वर्षअघि नै करिब पौने सात अर्बका संरचना बनेका छन् । संरचना बने पनि लामो समयसम्म सञ्चालनको प्रारूप टुंगिएको थिएन । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा तत्कालीन सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्दै कानुन निर्माण प्रक्रिया अगाडि बढाएको थियो । विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको ऐन प्रतिनिधिसभाबाट पारित भएर गत असारमा राजपत्रमा प्रकाशित भएपछि पुसमा बसेको विश्वविद्यालयको सभाले विश्वविद्यालयको उपकुलपतिमा प्राडा सुनीलकुमार जोशी र रजिस्ट्रारमा डा. खेमराज जोशीलाई नियुक्त गरेको थियो । 

गेटामा विश्वविद्यालयल स्थापनाका लागि सरकारलाई दबाब दिन गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले तीन सय शङ्ढयाको अस्पताल सञ्चालनसँगै आउने शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको पठनपाठन हुनेमा आफू आशावादी रहेको बताए । चिकित्सा शिक्षाको पठनपाठन हुने एउटा पनि संस्था नभएको सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय सञ्चालन हुनु खुसीको कुरा भएको उनले बताए । उनले शैक्षिक जनशक्ति छनोट भागबन्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा हुनुपर्नेमा जोड दिए । ‘सांसदसहितको टोलीले केही दिनअघि शिक्षा मन्त्रीलगायतलाई भेटेका थियौँ । पठनपाठन र तीन सय शङ्ढयाको अस्पताल छिट्टै सञ्चालन गर्न सरकार सकारात्मक रहेको पाएका छौँ,’ पाण्डेयले भने, ‘यहाँ एमबिबिएस पढाइ हुने एउटा पनि संस्था थिएन । ढिलै भए पनि हामी सुदूरपश्चिमवासीको सपना पूरा हुने भयो ।’ अब यहाँका विद्यार्थीले सहुलियत शुल्कमा चिकित्सा शिक्षा पढ्न र नागरिकले सहुलियत शुल्कमा स्तरीय उपचार सुविधा पाउने उनले बताए । विश्वविद्यालय सञ्चालनमा आए सुदूरपश्चिम स्वास्थ्य पर्यटन केन्द्रका रूपमा विकास हुने पाण्डेयको भनाइ छ ।

विश्वविद्यालय सभा बस्दै, शिक्षामन्त्री सहभागी हुने 
गेटामा पहिलोपटक विश्वविद्यालय सभा बस्दै छ । यसअघि सभाको पहिलो बैठक काठमाडौंमा बसेको थियो । २५ चैतमा बस्ने सभामा विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री सस्मित पोखरेल सहभागी हुने तय भएको रजिस्ट्रार जोशीले जानकारी दिए । सभाले विश्वविद्यालयको चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गर्नेछ । विश्वविद्यालयका सहकुलपति रहेका स्वास्थ्यमन्त्री निशा मेहतासमेत सहभागी हुनेबारे कुरा भइरहेको रजिस्ट्रार जोशीले बताए । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ । 

See More On

सुझावित समाचार