फेवाताल किनारको जग्गामा मलाई झुक्याइयो : गृहमन्त्री गुरुङ

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनारको जग्गा लिज प्रकरणमा आफूलाई जग्गाधनीले झुक्याएको दाबी गरेका छन्। तालको ६५ मिटरको मादपण्डभित्र रहेको भनेर आफूलाई जग्गाधनीले झुक्याएको उनको दाबी छ। 

हाल फेवाताल किनारका अतिक्रमित संरचना भत्काउने अभियान सुरु भएपछि त्यहाँको जग्गा मन्त्री गुरुङले पनि लिजमा लिएको बाहिर आएपछि उनीमाथि प्रश्न उठेको छ।   

जग्गा लिजमा लिँदा जग्गाधनीले अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याई लिजमा दिएर ठगेको भन्दै मन्त्री गुरुङसहित तीनजना साझेदारले कानुनी उपचारमा जाने बताएका छन्। जग्गाधनीले भने सम्झौताविपरीत गुरुङ भाडा नतिरी सम्पर्कविहीन भएको आरोप लगाएका छन्।  

पोखराको फेवाताल किनारमा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ  करिब आठ वर्षअघि मन्त्री गुरुङसहित तीनजना युवा उद्यमी मिलेर ‘एड्भेन्चर स्पोर्टस् नेपाल’ सञ्चालन गर्ने योजनासहित जग्गा लिजमा लिएका थिए।  मन्त्री गुरुङले भनेका छन्, ‘देशमै केही गरौँ भन्ने हुटहुटी र ऊर्जा बोकेका हामीले ठुलो लगानी र सपनाका साथ काम सुरु गरेका थियौँ। जग्गा भाडामा लिनुपूर्व हामीलाई जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए। लालपुर्जामा समेत जग्गा सुरक्षित रहेको देखाएका थिए, तर पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्दो रहेनछ ।’ 

आफूहरूलाई झुक्याएको थाहा पाएपछि तत्कालै काम रोकेको उनको दाबी छ। ‘हामीलाई झुक्याएर, ठगेर जग्गा भाडामा दिइएको यो तथ्य थाहा पाउनेबित्तिकै मैले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ। एउटा युवा उद्यमीका रूपमा हाम्रो सपना र लगानीमाथि जुन खेलबाड भयो, त्यो स्वीकार्य छैन,’ उनले भने । 

आफूमाथि नै ठगी भएको भ्न्दै कानुनी उपचार खोज्ने उनको चेतावनी छ। ‘हामीलाई पर्न गएको यो अन्याय र ठगीविरुद्ध, कडाभन्दा कडा कानुनी उपचारका लागि हामी अब कानुनी प्रक्रियामा कत्ति पनि विचलित नभई अगाडि बढ्ने व्यहोरा सबैमा अवगत गराउन चाहन्छु,’ मन्त्री गुरुङले भनेका छन्। 

सुझावित समाचार