सेनाप्रमुख ह्लाइङ बने म्यानमारका राष्ट्रपति

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

म्यानमारका सेनाप्रमुख मिन आङ ह्लाइङ राष्ट्रपतिमा चयन भएका छन् । नवनिर्वाचित संसद्ले उनलाई देशको नयाँ राष्ट्रपतिको रूपमा चयन गरेको हो । राष्ट्रपति हुन ह्लाइङले यसअघि नै सेनाको कमान्डर पदबाट राजीनामा दिइसकेका थिए ।

१ फेब्रुअरी २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारविरुद्ध आफ्नो विद्रोह सुरु गर्ने दुर्भाग्यपूर्ण निर्णय गरेको सात दिनपछि जनरल मिन आङ ह्लाइङले एक वर्षभित्र चुनाव गराउने र नागरिक शासनमा फर्कने वाचा गरे ।

त्यो वाचा पूरा गर्न उनलाई पाँच वर्ष लाग्यो । तर, यो नाम मात्रको नागरिक शासन हुनेछ । कुपछि पहिलोपटक बनेको संसद् उनका बफादारले भरिएको छ । निर्वाचनमा सबैभन्दा ठुलो विपक्षी दललाई रोक लगाइएको थियो ।

सशस्त्र बलले संसद्मा एकचौथाइ सिटको सुनिश्चितता गरेको छ र सेनाको समर्थन रहेको युएसडिपीले बाँकी सिटको लगभग ८० प्रतिशत जितेको छ । यो पूर्वनिर्धारित परिणाम थियो । नयाँ सरकार गठन हुँदा सेनाका अधिकारीले पनि प्रभुत्व जमाउने सम्भावना छ ।

ह्लाइङले आफ्ना कट्टर सहयोगी तथा क्रूरताका लागि कुख्याति कमाएका कट्टरपन्थी जनरल ये विन ओलाई सशस्त्र बलको प्रमुखमा प्रतिस्थापन गर्ने कुरा सुनिश्चित गरेका छन् । पाँच वर्षअघि सैन्य विद्रोहको नेतृत्व गरेकोमा धेरै पश्चिमी देशले ह्लाइङलाई प्रतिबन्ध लगाएका छन् । त्यसपछिको गृहयुद्धमा हजारौँ मानिस मारिएका छन् र लाखौँ विस्थापित भएका छन् ।

सुझावित समाचार