जनमत अस्वीकार गर्ने विवादास्पद अभिव्यक्ति एमालेले सच्यायो

शनिबार, २१ चैत, २०८२
डिजिटल संस्करण

२१ फागुनको निर्वाचन परिणामप्रति विवाद उत्पन्न गर्ने संसदीय अभिव्यक्तिलाई एमालेले ‘तुरुन्तै’ सच्याएको छ । संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले संसद्को पहिलो बैठकमा बिहीबार नेपाली सेना, कर्मचारीतन्त्र र विदेशी एनजिओको रास्वपाको जितमा निर्णायक भूमिका रहेको बताएका थिए ।

थापाको अभिव्यक्तिले एमालेको लोकतन्त्रप्रतिको प्रतिबद्धता, राज्यका अंगप्रति दृष्टिकोण र अन्तर्राष्ट्रिय सम्बन्धमा असर पर्न सक्ने भन्दै उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईलगायतले आपत्ति जनाएका थिए । त्यसपछि अर्को दिन शुक्रबार केन्द्रीय सचिवालय बैठकले विवादास्पद अभिव्यक्तिलाई स्पष्ट गर्दै जनमतको सम्मान गर्ने पक्षमा पार्टीको धारणा सार्वजनिक गरेको हो । 

‘संसदीय दलका नेताका अभिव्यक्तिबारे गम्भीरतापूर्वक छलफल गरेर केही अस्पष्टलाई बैठकले स्पष्ट पार्ने काम गरेको छ । उहाँको कुरा गलत थिएन, तर त्यसले केही अन्तरविरोध देखा पर्यो । उहाँको अभिव्यक्तिबाट जनमतलाई अलिकति नस्विकारेको जस्तो देखिएको हुनाले जनताले दिएको मतलाई हामीले सम्मान गर्छौँ भनेर कन्फ्युजन स्पष्ट पारेको छौँ,’ बैठकपछि उपमहासचिव लेखराज भट्टले भने, ‘मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा बैठकले स्पष्ट पारेको छ ।’ 

संसद् बैठकमा थापाले कलर रिभोलुसनमार्फत रास्वपाको विजयमा नेपाली सेनासहित अन्य संस्थाको निर्णायक भूमिका रहेको दाबी गरेका थिए । उनको विवादास्पद अभिव्यक्तिलाई संसद्मा रेकर्ड भइसके पनि हटाइएको छैन । त्यसलगत्तै उनले त्यस्तो विजयमा नेपाली सेनासहितले भूमिका खेलेको तथ्यहरूले पुष्टि गरेको दाबी गरेका थिए । ‘यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो ? रास्वपाको अभूतपूर्व विजयमा तथ्यहरूले के स्पष्ट गर्छ भने नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बाराबरा फाउन्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो । त्यसैले ती संस्था र पात्रहरूलाई पनि एमालेको तर्फबाट धेरै–धेरै बधाई भन्न चाहन्छु,’ बादलले भनेका थिए । 

उपमहासचिव रघुवीर महासेठले संसदीय दलका नेताको अभिव्यक्तिबारे सामान्य छलफल गरेर बैठकले निर्णय लिएको बताए । ‘उहाँ (रामबहादुर थापा ‘बादल’) दलको नेता र कार्यवाहक अध्यक्ष हुनुभएकोमा बधाई दियो र उहाँको अभिव्यक्तिको आशयमाथि सामान्य छलफल गरेर पार्टीले धारणा बाहिर ल्याएको हो,’ महासेठले भने । 

पार्टीको अकल्पनीय पराजय र पछिल्लो जनमतलाई सम्मान गर्दै एमालेभित्र पुनर्गठनमार्फत युवाको अभिमत कदर गर्नुपर्ने दबाब बढिरहेका वेला संसदीय दलको नेता बन्ने रुचि राखेका सुहाङ नेम्वाङलाई रोकेर थापालाई बनाइएकोमा ठुलो पंक्ति असन्तुष्ट छ । दुई दिनदेखि विरोध प्रदर्शन गर्दै आएको विद्यार्थीको समूहले बैठक सुरु हुनुअघि पदाधिकारीलाई हातमा गुलाफको फूल दिएर पार्टीको नेतृत्व क्रमशः युवाहरूमा हस्तान्तरण गर्ने गरी छलफल अगाडि बढाउन ध्यानाकर्षण नै गराएका थिए । उनीहरूको लगातारको ध्यानाकर्षणलाई बैठकले सुझावका रूपमा ग्रहण गरेको बैठकले निर्णयमा उल्लेख गरेको छ । ‘यस निर्वाचनका सम्बन्धमा पार्टी पंक्ति, खासगरी युवा पंक्तिबाट प्राप्त भएका सकारात्मक सुझावहरूलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ,’ निर्णयमा लेखिएको छ । 

त्यस्तै, बैठकले संसदीय दल नेताको निर्वाचनका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीको निर्देशन र हस्तक्षेपविनै सर्वसम्मत नेतृत्व चयन भएको स्पष्ट पारेको छ । साथै, बैठकले लोकतान्त्रिक विधिबाट भएको निर्णयलाई सम्मान गरेर सार्वजनिक रूपमा नकारात्मक टिप्पणी नगर्न एमालेले पार्टी पंक्तिलाई आह्वान पनि गरेको छ । 

त्यस्तै, बैठकले प्रधानमन्त्रीका रूपमा निर्वाचित बालेन्द्र शाहलाई संस्थागत रूपमा बधाई दिँदै चुनावमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।    

त्यस्तै, बैठकले महिला नेता, कार्यकर्ता र शुभेच्छुकमाथि भइरहेको साइबर आक्रमणको निन्दा गर्दै कानुनी उपचारमा सक्रिय हुन आह्वान गरेको छ । विद्यार्थी संगठनहरूको खारेजी, सरकारी विज्ञापन वितरण प्रक्रिया र प्रेस स्वतन्त्रतासम्बन्धी विषयमा पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । 

See More On

सुझावित समाचार