स्टार्टअप उद्यम गर्न चाहने नयाँ उद्यमीलाई कोशी प्रदेश सरकारले आठ अर्ब ऋण लगानी गर्ने भएको छ । प्रदेशको आर्थिक विकासका लागि स्विस सरकारको सहयोगमा कोशी सरकारले नवउद्यमीलाई ३० लाखदेखि तीन करोडसम्म ऋण प्रदान गर्ने गरी उदय परियोजना सञ्चालनमा ल्याएको हो ।
नवप्रवद्र्धन परियोजना र उद्यमशीलताको प्रवद्र्धनका लागि दाताको सहयोगमा कोशीले उदय परियोजनामार्फत नयाँ साना र मझौला उद्योगलाई विभिन्न बैंकबाट करिब आठ अर्ब ऋण लगानी गर्ने तयारी गरेको हो । उदय परियोजनाका लागि बिहीबार सुनसरीको इटहरीमा ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग कोशी सरकारले औपचारिक सम्झौता गरेको छ ।
सम्झौताअनुसार परियोजनामा स्विस सरकारले ३० करोड र प्रदेश सरकारले ३० करोड गरेर ६० करोडको ग्यारेन्टी फन्ड राखिनेछ । त्यस्तै, १४ करोड प्रदेश र १४ करोड स्विस सरकारको सहयोगमा च्यालेन्जिङ फन्ड पनि राखिने छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार यो योजना लागू भएपछि कुनै पनि नयाँ उद्यम गर्न चाहने व्यक्तिले सम्झौता भएका बैंकबाट ३० लाखदेखि तीन करोडसम्म ऋण पाउनेछन् । परियोजना हेरेर बैंकले आवश्यक ठानेमा धितो नलिकन पनि ऋण प्रवाह गर्नेछ ।