ताप्लेजुङमा कारागारमै दुई कैदीले दिए एसइई

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

ताप्लेजुङमा दुईजना कैदीबन्दीले कारागारभित्रैबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । जिल्ला कारागार ताप्लेजुङमा सजाय भुक्तान गरिरहेका दुईमध्ये एकजनाले नियमित र अर्का एकजनाले ग्रेडवृद्धितर्फ परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले बताए । 

ताप्लेजुङमा ११ वटा परीक्षा केन्द्रमार्फत एसइइ सञ्चालन भइरहेको छ । गत वर्ष १७ वटा केन्द्र रहे पनि यसपटक परीक्षार्थी संख्याका आधारमा केन्द्र घटाएर ११ वटा मात्र राखिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख भट्टराईले बताए । जिल्लाभरबाट नियमित, प्राविधिक धार र ग्रेडवृद्धि गरी कुल दुई हजार नौजनाले परीक्षा दिन आवेदन दिएका छन् ।

केही विद्यार्थी परीक्षा दिन अनुपस्थित भएका छन् । एसइईको पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिने नियमिततर्फ एक हजार ३९ जनाले परीक्षा आवेदन भरे पनि एक हजार ४०८ जनाले मात्र परीक्षा दिएका छन् । ३१ जना अनुपस्थित रहेको समन्वय प्रमुख भट्टराईले बताए । ग्रेडवृद्धितर्फ अंग्रेजी विषयका १९७ जनामा १३६ मात्र उपस्थित थिए भने ६१ जना अनुस्थित भएको भट्टराईको भनाइ छ ।

अंग्रेजी विषयमा परीक्षामा जम्मा ९२ जना अनुपस्थित अर्थात् परीक्षा नलेखेको बताइएको छ । परीक्षा सकिएसँगै उत्तरपुस्तिका जाँचको तयारी पनि सुरु गरिएको छ । आवश्यक सुरक्षा व्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत मिलाइएको छ । सम्बन्धित केन्द्रका शिक्षक तथा विज्ञहरूलाई परिचालन गरेर शुक्रबारदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गरिने तयारी रहेको छ । एसइईको पहिलो दिन सबै केन्द्रमा परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भएको जनाइएको छ । यस वर्ष केन्द्र निर्धारण गर्दा एक केन्द्रमा कम्तीमा १५० जना परीक्षार्थी हुनुपर्ने व्यवस्था लागू गरिएको थियो ।

सुझावित समाचार