६१ वर्षमा कक्षा चार

सात छोरी र दुई छोरा हुर्काएकी रूपा राईको अक्षरसँगको यात्रा

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

उदयपुरको चौदण्डीगढी नगरपालिका– ८, सिमलटारस्थित जयकला आधारभूत विद्यालयमा अध्ययनरत रूपा राईले विगत सम्झिँदै भनिन्, ‘बजार जाँदा साइनबोर्ड पढ्न सकिनँ, कसैले कागज दिँदा बुझ्न सकिनँ, अरूले सजिलै पढेको देख्दा मन दुख्थ्यो । त्यसैले ढिलै भए पनि पढ्न जाऔँ भनेर सुरु गरेँ ।’

कक्षाकोठामा साना बालबालिकाबिच एक वृद्धा किताबमा ध्यान दिइरहेकी छिन् । हातमा कापीकलम, आँखामा उत्साह र मनमा अधुरो सपना पूरा गर्ने दृढ संकल्प ।उमेरले ६१ वसन्त पार गरिसक्दा पनि अक्षर चिन्ने धोको लिएर विद्यालय पुगेकी रूपा राई उदाहरण बनेकी छिन्– सिकाइको कुनै उमेर हुँदैन ।

चस्मा लगाएर किताबमा आँखा गाडेकी राई यसपालि कक्षा चारको परीक्षा दिएर कक्षा पाँचमा पुग्ने तयारीमा छिन् । सेता भित्ता, ट्रसले बनेको छाना र सिमेन्टको भुइँ भएको साधारण कक्षाकोठामा पस्ने उज्यालोसँगै एउटा असाधारण कथा उज्यालिँदै छ– उनकै जीवनको कथा । उदयपुरको चौदण्डीगढी नगरपालिका– ८, सिमलटारस्थित जयकला आधारभूत विद्यालयमा अध्ययनरत रूपा राईले 

अहिले कक्षा ४ को वार्षिक परीक्षा दिएकी हुन् । रूपा राईको बाल्यकालमा विद्यालय जाने अवसर जुटेन । पारिवारिक अवस्था, सामाजिक संरचना र समयको सीमितताले गर्दा उनले अक्षर ज्ञानबाट वञ्चित हुनुपर्यो । तर, उमेरसँगै बढ्दै गएको एउटा पीडा भने सधैँ उनको मनमा रहिरह्यो । अक्षर नचिन्ने पीडा । ‘बजार जाँदा साइनबोर्ड पढ्न सकिनँ, कसैले कागज दिँदा बुझ्न सकिनँ, अरूले सजिलै पढेको देख्दा मन दुख्थ्यो,’ उनले विगत सम्झिँदै भनिन् ।

यही पीडाले उनीभित्र एउटा नयाँ संकल्प जन्मायो । चार वर्षअघि उनले साहस जुटाइन् । गाउँकै विद्यालयमा कक्षा १ मा भर्ना भइन् । त्यो निर्णय उनका लागि केवल विद्यालय प्रवेश मात्र थिएन । जीवनको नयाँ सुरुवात थियो । ‘ढिलो भए पनि पढ्न पाऊँ भन्ने चाहना धेरै वर्षदेखि थियो, अब सुरु गरेँ,’ उनले सुनाइन् ।

रूपा केवल एक विद्यार्थी मात्र होइनन्, उनी एक आमाको रूपमा पनि जिम्मेवारी पूरा गरिसकेकी छिन् । उनका सात छोरी र दुई छोरा छन् । परिवार अहिले ठुलो भइसकेको छ । अहिले नाति–नातिनाको संख्या नौजना छन्, जो सबै अध्ययनरत छन् । उनी भन्छिन्, ‘कोही नाति–नातिना गाउँको विद्यालयमा पढ्दै छन् भने कोही घरबाहिरका विद्यालयमा ।’

परिवारमै शिक्षाको माहोल बलियो बन्दै गएको छ । कान्छी छोरी नर्सिङ अध्ययन गर्दै छिन् भने कान्छो छोरा ब्याचलर तहमा अध्ययनरत छन् । आफूले नपाएको शिक्षा आफ्ना सन्तान र नाति–नातिनाले पाएको देख्दा उनी खुसी हुन्छिन् । तर, त्यहीसँगै आफूले अक्षर नचिनेकै कारण भोगेको आत्मग्लानीले उनलाई पढाइतर्फ जोसिएकी छिन् ।

उनको दिनचर्या अनुशासित छ । बिहान सबेरै उठेर घरधन्दा र भान्साको काम सकाएर उनी समयमै विद्यालय पुग्छिन् । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कक्षामा बसेर पढ्नु उनको नियमित अभ्यास हो । बिरामी नपरेसम्म विद्यालय छुटाउने बानी छैन । ‘घरको काम त सकिन्छ, तर पढाइ छुटाउनु हुँदैन भन्ने लाग्छ,’ उनले दृढतापूर्वक भनिन् ।

कक्षामा उनका सहपाठी सबै आफ्नै नाति–नातिना उमेरका छन् । सुरुमा उनीहरूसँगै बसेर पढ्दा केही असहज लागे पनि अहिले त्यो दूरी मेटिएको छ । साना विद्यार्थीहरूले उनलाई माया र सम्मानका साथ ‘बजु’ भनेर बोलाउँछन् । ‘उनीहरूसँग बसेर पढ्दा रमाइलो लाग्छ, सबैले सहयोग गर्छन्,’ उनले हाँस्दै भनिन् ।

विद्यालयमा रूपा प्रेरणाको स्रोत बनेकी छिन् । उनको लगनशीलता, नियमितता र सिक्ने चाहनाले सबैलाई प्रभावित बनाएको छ । विद्यालयका प्रधानाध्यापक गंगा मगर भन्छन्, ‘उहाँ हाम्रो विद्यालयको अनुकरणीय विद्यार्थी हुनुहुन्छ । उहाँको मेहनतले अन्य विद्यार्थीहरूलाई पनि प्रेरित गरेको छ ।’ रूपाको कक्षामा जम्मा १० जना विद्यार्थी छन् । सानो कक्षामा पनि उनको उपस्थितिले फरक ऊर्जा ल्याएको शिक्षकहरू बताउँछन् । 

सुझावित समाचार