बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, दुईजना घाइते

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

मकवानपुरको मकवानपुरगढी गाउँपालिका– २, मोरेमा बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ। थप दुईजना घाइते भएका छन्।

मकवानपुर प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ः३० बजे गाउँमा विद्युत् विस्तारका लागि फलामको पोल गाड्ने क्रममा पोलमाथिको हाइटेन्सन लाइनमा छोइँदा तीनजनालाई करेन्ट लागेको थियो।

घटनापछि घाइतेहरूलाई उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल मकवानपुर पठाइएको थियो। उपचारका क्रममा मकवानपुरगढी–२, मापुङ बस्ने करिब ३५ वर्षीय राजकुमार गोलेको साँझ ५ः४५ बजे चिकित्सकले मृत्यु घोषणा गरेका हुन्।

प्रहरीका अनुसार उक्त घटनामा मकवानपुरगढी–७, सानडाँडा बस्ने करिब ५०–५५ वर्षीय मानबहादुर गोले मध्यम घाइते भएका छन् भने मकवानपुरगढी–२, मोरे बस्ने करिब ३० वर्षीय राजकुमार स्याङ्तान सामान्य घाइते भएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सुझावित समाचार