पर्साको ग्रामीण पालिकाको रूपमा रहेको कालिकामाई गाउँपालिका कार्यालयका प्रायजसो कर्मचारीहरू कार्यालय समयमा कार्यालयमा नभेटिने गरेको पाइएको छ ।दैनिक कार्यालय समयमा कर्मचारीहरू कार्यालयमा आउन छाडेपछि केही जेन–जी युवाहरूले कार्यालयको गतिविधिमा निगरानी बढाएका हुन् ।
युवाहरूले गाउँपालिकाका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरूले कार्यालय समयमा कार्यालयमा आउन छाडेको र गैरजिम्मेवार बनेको आरोप लगाएका छन्। स्थानीय जेन–जी युवाहरूले पालिकाको मनोमानी गतिविधि र लापरबाही हुँदै आएकोबारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका छन् ।
पालिकामा गोप्य रूपमा ५० जनाभन्दा बढी कर्मचारीलाई भर्ना गरेको, कर्मचारीहरू पनि कार्यालयमा पनि नआउने गरेको जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण गराएका छन् ।
कार्यालय कर्मचारी नआउनेबारेमा पटक–पटक भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्दै गरेको र बेथितिबारेमा प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई जानकारी गराएको जेन–जी प्रमुख रजनीश कुसवाहाले जानकारी दिए ।
उनका अनुसार पालिकामा ५० भन्दा बढीको दरबन्दी रहे पनि दैनिक १० जना कर्मचारीले मात्र कार्यालयमा उपस्थिति जनाउने गरेको, तर सदरमुकाममा मात्र अधिकांश भेला हुने गरेको अवस्था छ ।
पालिकाका प्रमुख वशिष्ठ कुमार, उपप्रमुख राजमती चौरसिया र प्रमुख प्रशासकीय अधिकृत राज कुसवाहा गैरजिम्मेवार बनेको उनको आरोप छ । उनीहरूको पालिकाको वेबसाइटमा नम्बर पनि नरहेको र वेबसाइट पनि अपडेट नहुने गरेको जेन–जी संयोजक कुसवाहाले बताए । कालिकामाईमा अहिले पनि कर्मचारीतन्त्र, प्रमुख र उपप्रमुखको ढाकछाेप गर्न अहिले कर्मचारीहरूले पनि मनपरी गरिरहेको उनले बताए ।
पालिकाका लेखा प्रमुख, प्रशासकीय अधिकृतसँग मोबाइलमा पनि सम्पर्क नहुने, कहिले पनि कार्यालयमा नआउने र सदरमुकाममा गोप्य रूपमा कार्यालय सञ्चालनको काम गरिरहेको कुसवाहाले बताए ।
६ महिनाअघि कर्मचारीको विवरण, विकास खर्चको विवरण, इन्धनको खर्चको विवरणलगायतको माग गरेको भए पनि अहिलेसम्म नपाइएको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत राज कुसवाहासँग मोबाइलमा पनि सम्पर्क गर्न खोज्दा मोबाइलको स्विच अफ रहेको फेला परेका हो । उनी प्रत्येक दिन कार्यालय समयमा सम्पर्कभन्दा बाहिर रहने गरेका छन् ।