युद्धग्रस्त लेबनानबाट पुसदेखि शान्ति सैनिक फर्किने

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

लेबनान र इजरायलको युद्धविराम सम्झौता अनुगमनका लागि सीमा क्षेत्रमा खटिएको लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल)मा कार्यरत शान्ति सैनिक आगामी १६ पुसबाट फिर्ता हुँदै छन् । तर, लेबनानमा इजरायली आक्रमण जारी रहेको तथा पछिल्लोपटक शान्ति सैनिक पनि निसानामा परेपछि राष्ट्रसंघीय सुरक्षा परिषद्मा छलफल भएको छ । लेबनानमा २९ फागुनमा नेपाली सैनिकको एउटा भवनमा आक्रमण भएको थियो भने केही दिनअघि सवारी विस्फोटमा दुईजना इन्डोनेसियाली शान्ति सैनिक मारिएपछि राष्ट्रसंघमा समीक्षा सुरु भएको छ । 

लेबनानस्थित युनिफिल मिसनमा ५५० नेपाली सैनिक कार्यरत छन् । उनीहरू ड्युटीको समयबाहेक बंकरमा छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले लेबनानमा शान्ति सैनिकको सुरक्षाबारे परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रसंघ हेडक्वार्टरलगायत निकायमा चासो राखिएको जानकारी दिए । ‘शान्तिस्थापक मिसनमा जम्मा चार हजार ३०९ जना नेपाली सैनिक कार्यरत छन् । यीमध्ये लेबनानस्थित युनिफिल मिसनमा ५५० जना कार्यरत छन् । उनीहरू सुरक्षित छन्,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले नयाँ पत्रिकासँग भने, ‘संयुक्त राष्ट्रसंघ र हामीले सुरक्षितसाथ बस्नु र कर्तव्य निर्वाह गर्नु भन्ने निर्देशन गरेका छौँ । ड्युटीको अवस्थामा बाहेक परिस्थितिअनुसार हाम्रो फौज बंकरमा छ ।’

सुरक्षा परिषद्को स्थायी सदस्य मुलुक फ्रान्सको अनुरोधमा मंगलबार बसेको बैठकमा शान्ति सैनिकमाथि भएका पछिल्ला हमलाबारे समीक्षा भएको राष्ट्रसंघले जनाएको छ । सन् १९७८ देखि संयुक्त राष्ट्रसंघले लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बल (युनिफिल) तैनाथ गर्दै आएको छ । युनिफिलले दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता भएपछिको अवस्था अनुगमन गर्ने तथा लेबनानी सशस्त्र बललाई सहयोग गर्न मद्दत गर्दै आएको छ । 

सुरक्षा परिषद् बैठकमा राष्ट्रसंघको शान्ति अपरेसनका उपमहासचिव जाँ–पियरे लाक्रोआले लेबनानको हिज्बुल्लाह समूहले दैनिक रूपमा रकेट, मिसाइल र ड्रोनमार्फत इजरायल र सिरियाको गोलान हाइट्स क्षेत्रमा आक्रमण गरिरहेको बताए । यसैगरी, इजरायलले पनि बफर जोन विस्तार गरिरहेको उनको भनाइ थियो ।

‘इजरायली नेताहरूले अहिले खुला रूपमा तथाकथित सुरक्षा जोन वा बफर जोन विस्तार गर्ने, ब्लु लाइन (इजरायल–लेबनानको अस्थायी सीमारेखा) आसपासका लेबनानी गाउँ र लिटानी नदीका पुल ध्वस्त पार्ने अभिव्यक्ति दिइरहेका छन्,’ उनले भने । इजरायली आक्रमणपछि सवारीसाधन विस्फोट हुँदा दुईजना इन्डोनेसियाली शान्ति सैनिकको मृत्यु भएको छ भने त्यसअघि एकजना शान्ति सैनिकको मृत्यु भएको छ । दक्षिण लेबनानको मेस इल जाबेल क्षेत्रमा रहेको नेपाली सैनिकको गणको एउटा घरमा २९ फागुनमा आक्रमण भएको थियो । यद्यपि, नेपाली सैनिक नरहेका कारण कसैलाई केही नभएको सेनाले जनाएको छ । 

सीमारेखा (ब्लु लाइन) बाट इजरायली सेना लेबनानतिर अघि बढेको तथा आक्रमण जारी राखेको पनि सुरक्षा परिषद्मा ब्रिफिङ भएको थियो । राष्ट्रसंघका अनुसार इजरायलको आक्रमणपछि पछिल्लोपटक लेबनानमा एक हजार २४० जनाको मृत्यु भएको छ, तीन हजार ६८० जना घाइते भएका छन् र ११ लाखभन्दा बढी विस्थापित भएका छन् ।

सुरक्षा परिषद् बैठकमा चिनियाँ प्रतिनिधिले लेबनानलाई अर्को गाजा बनाउन नहुने भन्दै इजरायललाई फौज फिर्ता गर्न माग गरेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले गत वर्ष नै लेबनानको युनिफिल मिसन ३१ डिसेम्बर २०२६ सम्म रहने निर्णय गरिसकेको छ । उसले अन्तिमपटक मिसनको म्याद थपेको स्पष्ट पारिसकेको छ । तर, यो जानकारी प्राप्त भइनसकेको नेपाली सेनाले जनाएको छ । ‘राष्ट्रसंघले यो निर्णय गरेको भन्ने जानकारी छ, तर नेपाली सेनालाई राष्ट्रसंघबाट आधिकारिक वा औपचारिक जानकारी प्राप्त भएको छैन,’ प्रवक्ता बस्नेतले भने । मिसनको अवधि सकिएको एक वर्षभित्र फौज र कर्मचारी त्यहाँबाट बाहिर जानेछन् । 

लेबनान र इजरायलबिच युद्धपछि सन् २००० मा ११० किलोमिटर काल्पनिक सीमारेखा (ब्लु लाइन) कोरियो । यो अन्तर्राष्ट्रिय सीमारेखा नभए पनि लेबनान–इजरायलबिच युद्ध रोक्ने संयुक्त राष्ट्रसंघीय उपाय हो । सीमारेखाको सबैभन्दा संवेदनशील १५ किलोमिटर क्षेत्रको निगरानीमा राष्ट्रसंघीय अन्तरिम फोर्स (युनिफिल)को नेतृत्वमा नेपाली सैनिक खटिँदै आएका छन् । दक्षिण लेबनानको सीमा क्षेत्र लेबनानको राजधानी बेरुतबाट करिब तीन सय किलोमिटर दूरीमा छ ।

 ११ मार्च १९७८ मा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पिएलओ)ले ३७ जना इजरायलीको सामूहिक हत्या गरेपछि दक्षिण लेबनान इजरायलले कब्जा गरेको थियो । लेबनान सरकारले इजरायली कब्जाविरुद्ध संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा विरोध जनाएपछि १९ मार्चमा राष्ट्रसंघले इजरायललाई कब्जा भूभाग छाडेर जानुपर्ने प्रस्ताव (नम्बर ४२५) पारित गरेको थियो । योसँगै राष्ट्रसंघले २३ मार्च १९७८ मा युनाइटेड नेसन्स इन्टेरियम फोर्स इन लेबनान (युनिफिल)को नाममा सैनिक पठायो । त्यही समयदेखि नेपाली सैनिक यहाँ तैनाथ छन् । नेपाली सेनाको पर्यवेक्षक टोली भने सन् १९५८ देखि नै लेबनानमा खटिएका थिए ।

राजाराम बस्नेत, प्रवक्ता, नेपाली सेना 
लेबनानमा रहेका ५५० नेपाली सैनिक सुरक्षित छन्, सुरक्षा मापदण्ड पालना गरेर बस्न भनिएको छ, उनीहरूको सुरक्षामा चासो राखेका छौँ ।

सुझावित समाचार