परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो राङ्गेलसँग टेलिफोन वार्ता गरेका छन् । परराष्ट्रमन्त्री खनालले पोर्चुगलमा रहेका दुई हजारभन्दा नेपालीबारे चासो राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनालले कागजातसम्बन्धी गम्भीर समस्यामा परेका नेपाली नागरिकहरूको अवस्थाप्रति ध्यानाकर्षण गराएका थिए ।
नयाँ दिल्लीस्थित कूटनीतिक नियोगबाट जारी भएको भनी देखाइएका प्रहरीका नक्कली छापका कारण नेपालीहरूलाई प्राविधिक तथा कानुनी जटिलता परेको परराष्ट्रमन्त्रीको भनाइ थियो । त्यहाँ काम गर्ने श्रमिक नेपालीहरूलाई कागजातको समस्या परेको जानकारी पाएको भन्दै नेपालीहरूको कानुनी अवस्थालाई समाधान गरिदिन अनुरोध गरेका थिए । पोर्चुगलका परराष्ट्रमन्त्री राङ्गेलले नेपाली समुदायप्रति उच्च सम्मान व्यक्त गर्दै उनीहरूले पोर्चुगलको अर्थतन्त्र र सामाजिक जीवनमा पुर्याएको महत्त्वपूर्ण योगदानको प्रशंसा गरे । उनले कागजातलगायतका विषयलाई मानवीय दृष्टिकोणबाट हेरिने विश्वास दिलएका छन् । सम्बन्धित निकायहरूसँग समन्वय गरी नेपालीहरूको समस्याको सकारात्मक समाधान खोजिने उनको प्रतिबद्धता थियो ।
‘विदेशमा रहेका नेपालीहरूको हित परराष्ट्र मन्त्रालयको प्रमुख प्राथमिकता हो,’ परराष्ट्रमन्त्री खनालले भने, ‘हामी आफ्ना नागरिकहरूलाई न्यायपूर्ण व्यवहार सुनिश्चित गर्न तथा उनीहरूको योगदानलाई स्पष्ट र सहज कानुनी प्रक्रियामार्फत सुरक्षित गर्न सबै कूटनीतिक माध्यम प्रयोग गर्न प्रतिबद्ध छौँ।’ दुवै मन्त्रीहरूले जलविद्युत्, कृषि, पर्यटन, पूर्वाधार विकास तथा सूचना प्रविधिलगायतका रणनीतिक क्षेत्रमा सहकार्य अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको पनि परराष्ट्रले जनाएको छ ।