जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको जिल्ला सरकारी वकिल कार्यालयले बयान लिएको छ। बुधबार लेखकको बयान भएको हो।
उनीसँगै पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयानको तयारी भइरहेको छ।
‘रमेश लेखकको बयान आज भएको छ,’ जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले नयाँ पत्रिकासँग भने, ‘केपी ओलीको पनि बयान लिन तयारी गरिरहेका छौँ।’
हालसम्म प्राप्त प्रमाणका आधारमा लेखकको बयान सकिएको छ। थप विषय खुलेमा पछि फेरि सोधपुछ गरिने सरकारी वकिल कार्यालयका अधिकारी बताउँछन्।
पूर्वप्रधानमन्त्री ओली भने अस्पतालमा भर्ना भएकाले कसरी बयान लिने भन्नेबारे तय भइसकेको छैन। कार्यालयमै बोलाएर बयान लिन सकिने/नसकिने विषषमा छलफल भइरहेको स्रोत बताउँछ।
ओली र लेखक दुवैमाथि ज्यानसम्बन्धि कसुरमा मुद्दा प्रहरीमा दर्ता भइसकेको छ। जेन–जी आन्दोलनसम्बन्धि जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूमाथि लापबाही गरेर ज्यान लिएको कसुरमा अनुसन्धान अघि बढेको हो। दुवै जनालाई प्रहरीले गत शनिबार बिहान घरबाटै पक्राउ गरेको थियो।
जाँचबुझ आयोगलको प्रतिवेदनमा उल्लेख प्रमाणलाई नै मुख्य आधार बनाएर विस्तृत अनुसन्धान भइरहेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए।