पर्साका तत्कालीन चार मालपोत अधिकृतसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार मालपोत अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल, सुरेन्द्रप्रसाद राव कुर्मीसहित ८ जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष ०७०/७१ मा रजिस्ट्रेसन फाँट ‘ग’बाट उठेको रजिस्ट्रेसनबापतको २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ राजस्व हिनामिना भएको देखिएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आख्तियारको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले मिश्रलाई ३८ लाख ८० हजार ३६८, बोगटीलाई एक करोड १०  लाख ६० हजार ५२४, अर्याललाई २१ लाख ३८ हजार १६९ र कुर्मीलाई ९९ लाख १० हजार ५२५ रुपैयाँ बिगो रकम दाबी गरेको छ।

यसैगरी, अख्तियारले तत्कालीन नायब सुब्बा स्व. किरणप्रसाद उपाध्यायको हकमा अंशियार छोराहरू राजकिशोरप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतिप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायसँग कुल २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बिगो दाबी गरेको छ।

See More On

सुझावित समाचार