ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, आवेदन खुला

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने भएको छ । बैंकले गत वर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक एआई–एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो । कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल)सम्बन्धी ग्लोबल आइएमई एआई–एमएल ह्याकाथन दोस्रो संस्करण आगामी मे २९–३१ मा आयोजना गरिने बैंकले जनाएको छ । 

उक्त प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेसाकर्मीका लागि आवेदन खुला गरिएको छ । प्रतियोगितामा सहभागी हुन मे ४ भित्र बैंकको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ । 

ह्याकाथन प्रतियोगिताले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेसाकर्मी र सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवाको विकासमा उल्लेख्य सहयोग पुगेको बैंकको विश्वास छ । यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने नवीनतम सेवा विकास र सम्भावित चुनौतीको समाधान खोज्नसमेत सहयोग पुग्ने बताइएको छ ।

प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले दी अटोनोमस क्रेडिट एन्ड लेन्डिङ अर्केस्ट्रेटर, एजेन्टिक फ्रड डिटेक्सन, दी मल्टिलिंगुअल भ्वाइस बैंकिङ सहायक, सेन्टिनेल्स अफ द नेटवर्क एआई ड्रिभन इन्टुजन डिटेक्सन (आइडिएस)लगायत बैंकले तोकेका विषयमा केन्द्रित रही आफ्ना अवधारणा प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसरसमेत प्रदान गरिनेछ । 

सुझावित समाचार