लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चारजना चालकलाई प्रहरीले स्याङ्जाबाट नियन्त्रणमा लिएको छ । सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यसहित जिल्ला प्रहरी कार्यालय, स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका– १, बसपार्कस्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा निजी तथा सार्वजनिक सवारीसाधनका चालकहरूलाई लागुऔषध सेवन गरे–नगरेको चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।
पक्राउ परेका उनीहरूको शरीर खानतलासी गर्दा दुईजनाको साथमा लागुऔषध गाँजासमेत फेला परेको चौधरीले जानकारी दिए । पक्राउ पर्नेहरूमा ग.३ च ५८५ नम्बरको बाेलेरो जिपचालक जिल्ला तनहुँ, भिमाद नगरपालिका– २ बस्ने वर्ष २७ का मोहन थापा, लु.८३ प ७६ नम्बरको मोटरसाइकलचालक जिल्ला पाल्पा, तानसेन नगरपालिका– २ बस्ने वर्ष २० का विपिन कुँवर, ग.१०प ८६९७ नम्बरको मोटरसाइकलचालक स्याङ्जा, भिरकोट नगरपालिका– १ बस्ने वर्ष २० का प्रमिस केसी र ग.१ख ९१२४ नम्बरको हाइसचालक कास्की जिल्ला पोखरा महानगरपालिका– ११ बस्ने वर्ष ४३ का रिकेश परियार रहेका छन् । चारजनामध्ये थापा र कुँवरको साथबाट प्रहरीले पाँच–पाँच ग्राम गाँजासमेत बरामद गरेको चौधरीले बताए ।
पक्राउ गरिएका उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।