ग्राहकहरूको खाताबाट एक करोड ६५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा एक कर्मचारी पक्राउ

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

ग्राहकहरूको खाताबाट एक करोड ६५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा एक बैंक कर्मचारी पक्राउ परेका छन्। बैंकिङ कसुरसम्बन्धी मुद्दामा कपिलवस्तु प्रहरीले एनआइएमबी बैंक तौलिहवा शाखामा कार्यरत २८ वर्षीय रिसभ कार्कीलाई पक्राउ गरेको छ। मायादेवी गाउँपालिका– १, पकडीका कार्कीलाई इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको  बताइएको छ।

कपिलवस्तु प्रहरीका अनुसार कार्कीले विभिन्न समयमा बैंकिङ प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी ग्राहकहरूको खातामा लिंक गरिएको मोबाइल नम्बर परिवर्तन गरेको बताइएको छ । उनले वास्तविक प्रयोगकर्ताको नम्बर हटाई आफ्नो प्रयोगमा रहेको मोबाइल नम्बर राख्ने गरेका थिए। मोबाइल नम्बर परिवर्तनपछि उनले मोबाइल बैंकिङ तथा कनेक्ट आइपिएसमार्फत हुने कारोबारको सूचना ग्राहकसम्म नपुग्ने व्यवस्था मिलाई खाताबाट रकम अनधिकृत रूपमा स्थानान्तरण गरेका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार उनले १६ जना ग्राहकको खाताबाट कुल एक एक करोड ६५ लाख रुपैयाँ हिनामिना गरेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका कार्कीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत तुल्सीपुर, बुटवल इजलासबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको  कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए । 

‘यो घटनाले बैंकिङ प्रणालीभित्रैबाट हुने दुरुपयोग कति संवेदनशील हुन्छ भन्ने देखाएको छ। ग्राहकहरूले आफ्नो खातामा लिंक गरिएको मोबाइल नम्बर, मोबाइल बैंकिङ सेवा र ट्रान्जेक्सन गतिविधिहरू नियमित रूपमा जाँच गर्नु अत्यन्त आवश्यक छ। सानो लापरबाहीले ठुलो आर्थिक क्षति हुन सक्छ, त्यसैले कुनै पनि असामान्य गतिविधि देखिएमा तत्काल सम्बन्धित बैंक र प्रहरीलाई जानकारी गराउनुपर्छ।’ 

उनले यस्ता आर्थिक अपराध रोक्न सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले  बताए ।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

See More On

सुझावित समाचार