हिल्टनको पुनर्बिमा अनियमितता छानबिन प्रतिवेदन अख्तियारमा
हिल्टन होटेलको पुनर्बिमा अनियमितताका विषयमा नेपाल बिमा प्राधिकरणले गरेको छानबिन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । हिल्टनको पुनर्बिमा दाबीमा अनियमिता देखिएपछि अख्तियारले नै अर्थ मन्त्रालयमार्फत प्राधिकरणलाई छानबिन गर्न भनेको थियो ।
छानबिन समितिले नेपाल रिका सिइओ सुरेन्द्र थापालाई निलम्बन गर्न सिफारिस गरे पनि बिमा प्राधिकरणले लिखित कारबाही मात्रै गरेर उन्मुुक्ति दिएको छ । ३ चैतको प्राधिकरण सञ्चालक समितिले सिइओ थापालाई लिखित कारबाही गर्दै हिमालयन रि र दी ओरियन्टल इन्स्योरेन्सलाई २–२ लाख जरिवाना कारबाही गरेको थियो । त्यस्तै, एलियन्ट पुनर्बिमा ब्रोकरको लाइसेन्स तीन महिना निलम्बन गरेको छ । तर, विनाकारण अर्बौँ दायित्व सरकारी कम्पनीमा ल्याउन खोज्ने सिइओ थापालाई भने संस्थागत सुधारको प्रतिबद्धता तथा कबुलियत गराएर छोडिएको छ । ‘छानबिन समितिले नेपाल रिका सिइओलाई निलम्बन गर्न सिफारिस गरेको थियो । तर, बिमा ऐनका आधारमा निलम्बन नगरेर संस्थागत सुधारको प्रतिबद्धता मागेर लिखित रूपमा सचेत गराइएको हो,’ स्रोतले भन्यो, ‘सायद, निलम्बनको पाटोमा अख्तियारले केही निर्णय गर्ला ।’
प्राधिकरणले निर्देशक धुव्र तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । छानबिनमा हिल्टनको पुनर्बिमा गर्दा दी ओरियन्टल इन्स्योरेन्स, हिमालयन रि, एलियन्ट पुनर्बिमा ब्रोकर र नेपाल रिका सिइओले निर्देशन उल्लंघन गरेको देखिएको थियो । छानबिन समितिले उनीहरूलाई कारबाही गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन बोर्डमा बुझाएको थियो ।
सोही छानबिन प्रतिवेदन अर्थ मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस भएको स्रोतको दाबी छ । प्राप्त प्रतिवेदनका आधारमा अख्तियारले थप अनुसन्धान गर्न प्राधिकरणलाई अर्काे पत्रसमेत पठाइसकेको छ । ‘प्राधिकरणले छानबिनको प्रतिवेदन अर्थ मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको थियो । त्यसमा आयोगले विभिन्न विषयमा थप अनुसन्धान गर्नु भनेर पत्र पठाएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘थप अनुसन्धानको विषयमा तयारी हुँदै छ ।’
प्राधिकरणकी सहायक प्रवक्ता पुनम ज्ञवाली श्रेष्ठले यससम्बन्धी अध्ययनको प्रतिवेदन विभिन्न सरोकारवाला निकायमा पेस गरिए पनि अख्तियारको विषयमा जानकारी नभएको बताइन् । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले यस विषयमा बुझेर जानकारी दिने बताए । आयोगका प्रवक्ता सुरेश न्यौपानेले भने यो विषयमा आफूलाई जानकारी नभएको बताए ।
नेपालका बिमा कम्पनीले हुलदंगा तथा आतंकवादजन्य जोखिमको पुनर्बिमा ‘नेपाल रि’मा मात्रै गर्ने नीति छ । नेपालसहित विश्वका अधिकांश देश युद्धका वेलामा विदेशी पुनर्बिमा कम्पनीले नेपालका हुलदंगाको जोखिमको पुनर्बिमा लिन छोडेका थिए । त्यसपछि नेपालमै ०६०/६१ मा स्थापना गरिएको आकस्मिक बिमा कोषलाई नै कात्तिक ०७१ मा पुनर्बिमा कम्पनीका रूपमा स्थापना गरिएको हो ।
त्यसपछि सरकारकै निर्णयअनुसार प्राधिकरणले ०८० असार २९ गते हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बिमा नेपाल रिमा गर्न निर्देशन दिएको थियो । तर, हिल्टनको बिमा गरेको दी ओरियन्टल इन्स्योरेन्सले त्यसको हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बिमा भने एलियन्ट पुनर्बिमा ब्रोकरमार्फत हिमालयन रिमा गरेको थियो । हिल्टन होटेल र हिमालयन रिका अधिकांश लगानीकर्ता साझा छन् । त्यसमा नेपाल रिका सिइओ थापाले पहिला पुनर्बिमा प्रस्ताव अस्वीकार गरेर हिमालयन रिमा पुनर्बिमा गर्न मार्गप्रशस्त गरेका थिए ।
विगतमा नेपालमा आन्दोलनबाट हुने जोखिम न्यून थिए । त्यसले गर्दा यसबाट बिमा कम्पनी र पुनर्बिमा कम्पनीलाई निरन्तर नाफा भएको थियो । सोही नाफा कमाउने लोभमा नियोजित रूपमा हिल्टनको हुलदंगा तथा आतंकवादसमेतको पुनर्बिमा हिमालयन रिमा गरिएको थियो ।
गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनमा हिल्टन होटेल ध्वस्त भयो । त्यसपछि होटेलले दी ओरियन्टल इस्योरेन्समा बिमा दाबी गर्यो । तर, हिमालयन रिलाई पुनर्बिमा शुल्क तिर्दै आएको दी ओरियन्टलले जेन–जी आन्दोलनको क्षतिपछि पुनर्बिमा दाबी भने नेपाल रिमा गर्यो । त्यसको प्रक्रिया सिइओ थापाले अघि बढाएको देखिएको छ । हिल्टनले करिब ६ अर्बबराबरको दाबी पेस गरेको छ । त्यसको दायित्व सबै सरकारी स्वामित्वको नेपाल रिमा पार्न खोजिएको थियो, जुन योजना असफल भएको छ ।
कारबाहीलगत्तै हिमालयन रिका अध्यक्ष गोल्छाको राजीनामा
प्राधिकरणको कारबाहीपछि हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै ८ चैतमा पदबाट राजीनामा दिएका हुन् । गोल्छा ०७८ मंसिरमा हिमालयन रिको अध्यक्ष बनेका थिए । अख्तियारको अनुसन्धानमा पर्ने डरपछि उनले राजीनामा दिएको स्रोतको भनाइ छ ।
कम्पनीका सूचना अधिकारी शिशिर गैरेले भने अध्यक्ष गोल्छाको कार्यकाल सकिएकाले राजीनामा गरेको बताए । ‘उहाँको कार्यकाल सकिसकेको थियो । अब साधारणसभाबाट नयाँ सञ्चालक समिति बन्नुपर्ने थियो । तर, साधारणसभा भइनसकेको हुनाले कार्यकाल सकिए पनि उहाँ कायमै हुनुहुन्छ,’ उनले भने, ‘यद्यपि, उहाँले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिनुभएको छ ।’
पुनर्बिमा दाबीको विषयमा नयाँ निर्णय गर्दै प्राधिकरण
हिल्टनको पुनर्बिमा दाबी कुन कम्पनीले गर्ने भन्ने विषयमा प्राधिकरणले नयाँ निर्णय गर्ने तयारी गरेको छ । अनुसन्धानका क्रममा दि ओरियन्टल इन्स्योरेन्सले हिल्टन होटेलको पुनर्बिमा शुल्क (प्रिमियम) हिमालयन रिइन्स्योरेन्समा तिर्दै आएकोमा आगलागीपछिको पुनर्बिमा दाबी भने नेपाल रिमा पेस गरेको देखिएको थियो ।