जलेको अवस्थामा सिर्जनाको शव फेला, प्रेमी पक्राउ

सोमबार, १६ चैत, २०८२
डिजिटल संस्करण

नेपालगन्ज उपमहानगरपालिका– १२, कोरियनपुकी २२ वर्षीया सिर्जना बुढामगरको शव जलेको अवस्थामा फेला परेको छ । शनिबार राति करिब साढे ११ बजे घरबाहिर महिला जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सिर्जनाकी चार वर्षीया छोरी छिन् ।

पहिलो पतिसँग सम्बन्ध विच्छेद भएपछि उनी कोरियनपुरका २४ वर्षीय मोहम्मद आरिफसँग नेपालगन्ज उपमहानगरपालिका– ८ रानीतलाउनजिक डेरामा बस्दै आएकी थिइन् । ‘आरिफ र सिर्जनाबिच पटक–पटक झगडा हुने गरेको र १३ चैतमा आरिफले सिर्जनालाई कुटपिट गरेको उजुरी परेपछि पक्राउ गरिएको थियो,’ बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले भने, ‘अबदेखि झगडा नगर्ने, मिलेर बस्ने सहमति भएको थियो । प्रहरीको हिरासतबाट आएको राति नै आगोले जलेको अवस्थामा सिर्जना फेला पर्नुमा शंका गर्ने ठाउँ छ ।’

स्थानीयले देखेपछि उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले सिर्जनालाई मृत घोषणा गरेको उनले बताए । आरिफको डेरा र घर करिब चार किलोमिटर टाढा छ । शव आरिफको घरनजिकै फेला परेकाले हत्या भएको आशंका गर्ने ठाउँ भएको डिएसपी पातलीले बताए । सिर्जनाको हत्या भएको भन्दै माइती पक्षले आरिफविरुद्ध जाहेर दिएपछि आरिफ, उनकी आमा र दिदीलाई प्रहरीले पक्राउ गरेको छ । ‘हत्या वा आत्महत्या थप अनुसन्धान तथा पोस्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिने अवस्था छ,’ उनले भने ।

सुझावित समाचार