सुर्खेतकी किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि नै हत्या गरिएको दाबीसहित चारै किशोरविरुद्ध मुद्दा दायर भएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरेको हो ।
आरोपीहरूलाई जन्मकैद सजाय माग गरी मुद्दा दायर गरिएको छ । पक्राउ परेकाहरू १८ वर्षभन्दा कम उमेरका भएकाले नाम भने गोप्य राखिएको छ । सबै आरोपी घटनास्थलमा देखिएको, घटनास्थलबाट एउटा प्रयोग गरिएको र तीनवटा प्रयोग नगरिएका कन्डम भेटिएको तथा उद्धार गरिएको भन्ने नदेखिएको र मृतक परिवारको किटानी जाहेरीका अधारमा चारैजनालाई समान कसुरदारका रूपमा अभियोजन गरिएको छ ।
गत २३ फागुनमा वीरेन्द्रनगर– ४ स्थित जनजागरण सामुदायिक वनमा इनिसा अचेत अवस्थामा फेला परेकी थिइन् । पछि अस्पताल लैजाँदा उनको बाटैमा मृत्यु भएको थियो । प्रहरीले लगत्तै चार युवकलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक युवकले इनिसासँग आफू प्रेमसम्बन्धमा रहेको र सहमतिमै शारीरिक सम्बन्ध राख्ने क्रममा अत्यधिक रगत बगेर उनी बेहोस भएको बयान दिएका छन् । इनिसा बेहोस भएपछि अरूलाई सहयोग गर्न आफूले बोलाएको उनको बयानमा उल्लेख छ । तर, उद्धार गरिएको भन्ने आधार नदेखिएको अभियोगपत्रमा उल्लेख छ ।