श्रीमतीलाई बाँधेर खुट्टा काट्ने श्रीमान् पक्राउ

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

पर्सामा घरायसी विवादका क्रममा अमानवीय ढंगले श्रीमतीको हातखुट्टा बाँधेर खुट्टा काट्ने श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका– ३, बिरुवा टोलका ३० वर्षीय विश्वनाथ सहनी रहेको पर्सा प्रहरीले जनाएको छ।

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले चैत १ गते सहनीले हातखुट्टा बाँधेर श्रीमती २५ वर्षीया हरिकला देवीको धारिलो हतियार प्रयोग गरेर बाँया खुट्टा काटेको बताए। श्रीमतीको खुट्टा काटेर फरार रहेका विश्वनाथलाई विशेष सूचनाको आधारमा शनिबार पक्राउ गरिएको उनले जानकारी दिए।

पक्राउ परेका विश्वनाथलाई हिरासतमा राखेर ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंगसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरी उपरीक्षक पाठकका अनुसार विश्वनाथले श्रीमतीको पैतलाभन्दा माथिको भाग छिन्ने गरी काटेर गम्भीर घाइते बनाएका छन्। घाइते महिलाको बारास्थित एलएस न्युरो अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो।

सुझावित समाचार