चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप : पुरुषतर्फको उपाधि नवलपुरको बौदीकालीलाई

शनिबार, १४ चैत, २०८२
डिजिटल संस्करण

बौदीकाली गाउँपालिका नवलपुरले चौथो संस्करणको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता (गण्डकी प्रदेश अन्तरपालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल तथा छेलो हान्ने प्रतियोगिता) २०८२ अन्तर्गत पुरुषतर्फको उपाधि हात पारेको छ ।

‘पर्यटन, कृषि, ऊर्जा र गुणस्तरीय पूर्वाधार : सम्मुन्नत माछापुच्छ्रे निर्माणको मूल आधार’ भन्ने नारासहित मछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना एवं वडा नम्बर ४ कार्यालयको व्यवस्थापन सम्पन्न प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा बौदीकालीले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

फाइनल खेलको पहिलो सेट बौदीकालीले २५–१७ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट २१–२५ र तेस्रो सेट २२–२५ ले गुमाएको थियो । तीन सेट सकिँदा २–१ ले पछि परेको अवस्थालाई उल्टाउँदै बौदकालीले चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ सेटको बराबरी पुर्याएको थियो । खेलको अन्तिम एवं निर्णायक पाँचौँ सेट १५–११ ले आफ्नो पक्षमा पार्दै बौदीकालीले उपाधिसँगै दुई लाख र उपविजेता शुक्लागण्डकीले एक लाख नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

यसअघि शुक्रबार सम्पन्न महिलातर्फको फाइनलमा एलिट भलिबल एकेडेमी, पोखरा– ३, नदीपुरले शान्ता भलिबल ट्रेनिङ सेन्टर भकुन्डे पोखरालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको थियो । विजेता टोलीलाई आयोजक माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा विधागततर्फ बैदीकालीका हिमाल सुनारी उत्कृष्ट खेलाडी, शुक्लागण्डकीका ईश्वर सुनार स्पाइकर, बौदीकालीका विश्वास अधिकारी ब्लकर, शुक्लागण्डकीका अशोक मल्ल सेटर, बौदीकालीका अशोक श्रेष्ठ सर्भर, शुक्लागण्डकीका मदन ठकुरी डिफेन्डर र बौदकालीका जितबहादुर थापाले उत्कृष्ट प्रशिक्षक घोषित भए ।

यसैगरी महिलातर्फ एलिटकी जेनिशा विक उत्कृष्ट खेलाडी, शान्ताकी साजना नेपाली स्पाइकर, शान्ताकी सलिना गुरुङ ब्लकर, एलिटकी रोशनी गुरुङ सेटर, एलिटकी रिकझना बोटे सर्भर, शान्ताकी पृथ्वी गाहा डिफेन्डर र एलिटका मिलन रोका उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उत्कृष्ट हुने खेलाडी एवं प्रशिक्षकहरूले आयोजक पालिकाको लोगोअंकित खेलकुद पोसाक पुरस्कार पाए ।

छेलो प्रतियोगिताअन्तर्गत अशोक पुन प्रथम हुँदै १०, सरोज मगर दोस्रो हुँदै पाँच, पारसमान गुरुङ तेस्रो हुँदै दुई र सान्तवना स्थान हात पारेका दीपक हर्मेलीले एक हजार नगद पुरस्कार पाएका प्रमुख प्रशासकस्य अधिकृत केशव सुवेदीले जानकारी दिए ।
 

सुझावित समाचार