फरक शैलीबाट राजनीतिक यात्रा थालेका बालेन्द्र शाह (बालेन)ले शुक्रबार ४३औँ प्रधानमन्त्रीका रूपमा देशको बागडोर सम्हाले । बालेनको राजनीतिक यात्रा छोटो तर रोचक छ । शपथ र पदभार ग्रहण गर्न शुक्रबार शीतलनिवास र सिंहदरबार पुगेका उनी ०४६ का कान्छा प्रधानमन्त्रीसमेत हुन् । उनले राजनीतिमा हामफालेको छोटो समयमै छलाङ मात्रै मारेनन्, विगतका शीर्ष दलहरूलाई किनारा नै लगाए । युवाशक्तिलाई मूलधारको राजनीतिमा ल्याए ।
स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर ०७९ को स्थानीय तह चुनाव जितेका उनी साढे तीन वर्षको अन्तरालमै देशको प्रधानमन्त्री बने ।
१४ वैशाख ०४७ मा काठमाडौं महानगरपालिका– ९ नरदेवीमा जन्मिएका उनी बुबा स्व. रामनारायण शाह र आमा धु्रवादेवी शाहका कान्छा छोरा हुन् । हाल उनको परिवार तीनकुनेको गैह्रीगाउँमा बस्न आएको छ । उनले छोटो समयमै सिभिल इन्जिनियर, संरचनात्मक अनुसन्धानकर्ता, काठमाडौंका पूर्वमेयर, लेखक र पूर्वाधार विकास, सम्पदा संरक्षण र सार्वजनिक नेतृत्वमा बहुआयामिक अनुभव बटुलेका छन् । साथै, उनी सांगीतिक क्षेत्रमा पनि लोकप्रिय र्यापर हुन् । प्राय: देशभक्त, बेथिति, युवा वेदना र समस्यामा केन्द्रित भएर र्याप गाउँछन् । उनले हालसम्म २५ भन्दा बढी र्यापमा स्वर भरेका छन् ‘अश्र’ कवितासंग्रह प्रकाशित छ ।
बालेनको पुर्ख्यौली घर महोत्तरी हो । तर, उनी त्यहाँको जनजीवनसँग त्यति घुलमिल हुन पाएनन् । काठमाडौंमै जन्मेहुर्केका उनी यहीँको वातावरणसँग बढी घुलमिल भए । साथीसंगी यहीँका बनाए । महोत्तरीमै जन्मेहुर्केका उनका बुबा आयुर्वेदिक चिकित्सक थिए । पढाइ रोजगारीको सिलसिलामा काठमाडौं हानिएका उनले यतै घर बनाए । बालेनका एक दाइ कौशल शाह, एक दिदी र एक बहिनी छन् ।
उनका बुबा र बाजेले महोत्तरीमा धेरै समय बिताए पनि बालेन भने त्यहाँको स्थानीयसँग त्यति नजिक भएनन् । यद्यपि, उनी महोत्तरीको पुर्ख्यौली घरमा वेलावेला आउजाउ गर्छन् ।
बालेन सडक नाटक तथा विद्यालयमा हुने सांगीतिक कार्यक्रममा समेत उत्तिकै सहभागी हुन्थे । साथै, सानैदेखि र्याप गीत गाउँथे । उनी र्यापमा पनि फरक किसिमको हिपप र्याप गाउन बढी रुचि राख्थे । त्यसमा उनले राज्यका बेथिति र नागरिकका आवाज उठाउँथे । शाहले मेडिकल शिक्षाका अभियन्ता डा. गोविन्द केसीको आन्दोलनमा समेत नजिकबाट साथ दिएका थिए ।
उनले नरदेवीस्थित जलजला स्कुलबाट विद्यालय तहसम्मको शिक्षा लिएका थिए भने उच्च माध्यमिक तहको अध्ययन तीनकुनेस्थित भिएस निकेतनबाट गरे । उनले एसएसली अलाइन्स स्कुलबाट दिएका थिए । त्यसपछि उनलाई बुबाले डा. पढाउने भने पनि उनले आफ्नो रुचिको विषय इन्जिनियरिङ नै पढे । उनले पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा इन्जिनियरिङ स्नातक (बिई) तहको अध्ययन सकाए । त्यसपछि स्नातकोत्तर तहको अध्ययन गर्न भारतको बैंगलोर हानिए । त्यहाँको चर्चित विश्वेश्वरड्ढया टेक्नोलोजिकल युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा (एमटेक) सम्मको अध्ययन गरे । त्यसलगत्तै नेपाल फर्किए । यहीँ स्ट्रक्चरल इन्जिनियरिङमा काम गर्न थाले । हाल काठमाडौं विश्वविद्यालय (केयू)बाट पिएचडी गर्दै छन् ।
समाजसेवी सोचका शाहले ‘बालेन कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालि’ मार्फत ०७२ को भूकम्पपछि प्रभावित क्षेत्रमा पुगेर आवास निर्माणका लागि नि:शुल्क काम गरे । नेपालका करिब ६५ जिल्लाहरूमा समेत पुगेर काम गरेका उनी चुनावी प्रचार–प्रसारको वेला पनि देशका अधिकांश जिल्लामा पुगे ।
उनी मूलत: ०७९ देखि राजनीतिमा सक्रिय हुन थाले । उनी युवामाझ र्याप ब्याटल गायकका रूपमा बढी परिचित भए । यस विधामा हुने प्रतियोगितामा उनले पटक–पटक जित हात पारेका थिए । काठमाडौं महानगरकोे मेयर बनेपछि पनि उनले आफ्नो सांगीतिक यात्रालाई सँगसँगै अघि बढाइरहे । प्रधानमन्त्री बन्नुभन्दा ठिक एक दिनअघि बिहीबार साँझ मात्रै उनले ‘जय महाकाली’ र्याप सार्वजनिक गरे ।
उनी ०७४ को स्थानीय तहको निर्वाचनमै उम्मेदवार बन्ने सोच बनाएका थिए । साथी सर्कलमा उनले स्वतन्त्र उठ्ने गरी तयारीसमेत गरेका थिए । तर, तत्कालीन समयमा विवेकशील पार्टी स्वतन्त्रको रूपमा आएपछि उनले आफ्नो स्वतन्त्र उम्मेदवार त्यतिवेला दिएनन् । ०७९ को चुनावमा लौरो चुनाव लिएर काठमाडौं महानगरको मेयरमा उठेका उनले सहजै चुनाव जित्लान् भनेर धेरैले अनुमानसमेत गरेका थिएनन् । मेयर निर्वाचित भएलगत्तै १३ जेठ ०७९ मा बालेनले भनेका थिए, ‘निर्वाचनको जुन परिणाम आएको छ, त्यो विजयभन्दा पनि हाम्रो एउटा कार्यको सुरुवात हो । अबको पाँच वर्षमा हाम्रो भिजन, एजेन्डालाई पूर्ण रूपमा लागू गर्नेछौँ, महानगरवासीलाई परिवारका रूपमा लिएका छौँ ।’
उनी ०७९ मा ६१ हजार ७६७ मतसहित निर्वाचित भएका थिए । त्यतिवेला उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवारी दिएकी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका थिए । मेयर बनेपछि काठमाडौं महानगरपालिकामा सुशासन र सेवाप्रवाहमा सुधार गरेका उनले मूलत: महानगरको शिक्षालाई कायापलट गरे । महानगरका ८३ वटा सामुदायिक विद्यालयमा स्मार्ट र व्यावहारिक शिक्षामा सुधार ल्याएका थिए । विगतमा हुने छात्रवृत्तिको दुरुपयोग रोकेर व्यवस्थित बनाए । भदौ २३–२४को जेन–जी आन्दोलनपछि साढे तीन वर्ष महानगर चलाएका उनी त्यहाँबाट राजीनामा दिएर संघीय सरकार हाँक्ने इच्छासहित चुनावमा होमिएका थिए । चुनावमा उत्रिएपछि उनको दल रास्वपाले उभार नतिजा ल्यायो । सोही नतिजाको परिणामस्वरूप झन्डै दुईतिहाइको सरकारमा उनी शुक्रबार शक्तिशाली प्रधानमन्त्री बनेर देशको नेतृत्व सम्हाले ।
स्कुल पढ्दा नै फरक थिए बालेन
स्कुल पढ्दा उनी पढाइमा औसत किसिमका विद्यार्थी थिए । स्कुल पढ्दा बढी उपद्रव स्वभावका उनी पटक–पटक स्कुलको कारबाहीमा समेत परेका थिए । बुबाको जागिर र आफ्नै स्वभावले पनि उनले पटक–पटक स्कुल परिवर्तन गरिरहे । हरेक कुरामा प्रश्न गर्ने र विरोध गर्ने स्वभावका कारण उनलाई पढाउँदा शिक्षक नै दिक्क हुन्थे । तर, आफ्नो प्रश्न गर्ने र फरक मत राख्नेमा बालेन कहिल्यै पछि हटेनन् । काठमाडौंमै जन्मे–हुर्केकाले पनि उनी यहाँका गल्लीगल्ली र यहाँका जात्रापर्वहरूसँग परिचित थिए । उनका थुप्रै नेवार साथीहरू थिए र छन् । जसबाट उनले नेवारी संस्कृति र जात्रा पनि बुझे । उनको पारिवारिक स्रोतका अनुसार बालेन सानैदेखि अडान लिने, साहसी, जिद्दी र बाठा स्वभावका थिए । हरेक काम गर्न आँट राख्थे ।
बालेनका हितैषी
बालेनले आफू राजनीतिमा आउनुपूर्व आफ्ना राजनीतिक गुरु नरसिंह व्यञ्जनकारलाई माने । उनी ललितपुर महानगरपालिका– १० मा १० पटक वडाध्यक्ष भएका थिए । स्वतन्त्र उम्मेदवारबाट जितेर १० पटकसम्म वडा चलाएका नरसिंह व्यञ्जनकारबाट बालेन प्रभावित थिए । हाल नरसिंहको निधन भइसकेको छ । तथापि, बालेन अहिले उनै स्व. नरसिंहका छोरा कुमार व्यञ्जनकार (कुमार बेन)सँग निकै निकट छन् । प्रधानमन्त्री बनेपछि पनि उनले आफ्ना प्रमुख सल्लाहकारका रूपमा उनै कुमारलाई राखेका छन् । बालेनलाई राजनीतिक आइडिया दिनेदेखि उनको राजनीतिक करिअरमा कुमारले निकै महŒवपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । ललितपुरको जुवागलनिवासी कुमारले बालेनलाई नेवारी कला संस्कृति सिकाउनेदेखि हरेक अप्ठ्यारा यात्राहरूमा सहयोग गर्दै आइरहेका छन् । त्यस्तै, बालेन महानगरको मेयरमा आएपछि उनलाई सम्पदाप्रेमी यादवलाल कायस्थले उपत्यकाका सम्पदा चिनाउने र भ्रमण गराउने गरेका थिए ।
महानगरदेखि सिंहदरबारसम्मको फड्को
०७९ को चुनावमा महानगरपालिका जितेपछि बालेनले काठमाडौं महानगरपालिकामा सुशासनलाई प्राथमिकता दिए । निर्वाचित भएपछि उनले सामुदायिक विद्यालयमा सुधार ल्याउने, छात्रवृत्तिलाई पारदर्शी बनाउनेमा बढी जोड दिए । महानगरभित्रका निजी विद्यालयमा ३० हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिलाए । उनले निजी विद्यालयको नाम नेपालीकरण गर्ने, सामुदायिक विद्यालयका कक्षाकोठा फराकिलो पार्ने, डिजिटल शिक्षामा जोड दिने र सामुदायिक विद्यालयले अनधिकृत रूपमा भाडामा लगाएको सटर खाली गरेर उदाहरणीय काम गरेका थिए ।
शुक्रबार मात्रै प्रधानमन्त्री बनेका उनीसँग यसअघिको सरकारका प्रधानमन्त्रीसँग पटक–पटक टसल परेको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग उनको जुहारी नै चल्यो । राजधानीको मेयर उनी सिंहदरबारसँग नझुकी काम गरे । बरु काठमाडौं महानगरपालिकामा सुधारका काम गरेर सिंहदरबारलाई नै सुशासनको चुनौती दिए । तत्कालीन प्रधानमन्त्री ओली र बालेनबिचको विवाद शृंखला लामो समयसम्म चलेको थियो । कहिले फोहोर उठाउने नाममा, कहिले टुकुचा उत्खनन गर्ने नाममा त कहिले सुकुमवासी बस्ती हटाउने नाममा । ओली प्रधानमन्त्री भएपछि बालेनले धरहरामा पार्किङ खुलाए । त्यसपछि ओली झन् बिच्किए । बालेनले ओलीको पालामा बनेको धरहरालाई सेतो टावर र झापा दमकमा ठड्याइएको बिजनेस टावरलाई फेसबुकबाटै ‘अग्लो घर’को संज्ञा दिएका थिए । बालेन मेयर भएपछि उनले चक्रपथको अस्तव्यस्तता अवलोकन गर्न पुगे ।
सरकारले चक्रपथ निर्माणमा ढिलासुस्ती गरेर जनतालाई सास्ती दिएको भन्दै तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने भन्दै फेसबुकमा लेखे । त्यसलगत्तै सडक विभागअन्तर्गत सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंको गेटमा महानगरले उपहारस्वरूप भन्दै एक ट्रक धुलो फ्याँक्यो । उक्त भिडियो बालेनले सार्वजनिक गरेपछि ओली निकै रिसाए । बालेनले न्युरोडमा सडकपेटी विस्तार अघि बढाए । त्यहाँ एमालेनिकट वडाध्यक्ष चिनीकाजी महर्जनले अवरोध गरे ।
सडक विभाग र महानगरबिच विवाद मच्चियो । बालेनले ओलीको गिरीबन्धु टी–स्टेट मुद्दामाथि फेसबुकबाटै कटाक्ष गरे । उनले भनेका थिए, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थाल्नुभएछ ।’ प्रधानमन्त्रीले नै मेयर शाहलाई विरोध गरेपछि ओलीविरुद्ध सामाजिक सञ्जालमा अनफलो अभियान चल्यो । त्यसको केही समयपछि एमालेनिकट लुम्बिनी प्रदेश सांसद रेखा शर्माले बालश्रमिक राखेको र यातना दिएको मुद्दामा महानगरले अध्ययन गर्दै कारबाहीका लागि सिफारिस गर्यो । तर, ओलीले सांसद शर्मालाई जोगाए । त्यसपछि ०८१ भदौदेखि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर ओली र बालेनबिच निकै लामो विवाद चल्यो । बालेनले नरुचाएका कार्यकारीलाई ओलीले सरुवा गरेनन् । बरु प्रहरीको सुरक्षामा कार्यालय पठाएपछि विवाद उत्कर्षमा पुगेको थियो । अब भने देश चलाउने साँचो बालेनको हातमा पुगेको छ ।
जेन–जी आन्दोलनका सहिद परिवार, घाइते र उनका परिवार मात्रै होइन, सिंगो नेपालले बालेनबाट ठुलो आशा राखेका छन् । सुशासन, भष्ट्राचार नियन्त्रणसहित बालेनबाट आममानिसले नेपाल हाँसेको हेर्न चाहेका छन् ।