लिभरपुल छाड्न तयार भए सलाह

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण
  • सन् २०२७ सम्मका लागि लिभरपुलसँग सम्झौता गरेका मोहमद सलाहले चालू इंग्लिस प्रिमियर लिग नै अन्तिम सिजन भएको जनाएका छन् । नौ वर्ष एनफिल्डमा रहँदा उनले ४३५ खेलमा २५५ गोल गरे । 

इजिप्टका मोहमद सलाहले इंग्लिस क्लब लिभरपुल छाड्ने भएका छन् । नयाँ सिजन २०२७ मा सलाह क्लबको जर्सीमा नदेखिने लिभरपुलले जनाएको छ । यसै साता इजिप्टका स्ट्राइकर सलाहले लिभरपुल छाड्ने सहमति गरेका थिए । क्लबले भने बुधबार राति मात्र सार्वजनिक गरेको थियो । 

सलाहले नौ वर्ष इंग्लिस क्लबबाट प्रतिस्पर्धा गर्न पाउनु आफ्ना लागि गर्विलो क्षण भएको बताएका छन् । सन् २०१७ मा उनी इटालियन क्लब रोमाबाट लिभरपुल आएका थिए । नौ वर्ष एनफिल्डमा रहँदा उनी क्लब इतिहासकै महान् खेलाडीका रूपमा स्थापित भए । यस अवधिमा उनले लिभरपुललाई दुई प्रिमियर लिग, युरोपियन च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, युइएफए सुपर कप, एफए कप, दुईपटक लिग कप र एकपटक एफए कम्युनिटी सिल्ड दिलाए । 

उनले लिभरपुलबाट समग्रमा ४३५ खेलमा २५५ गोल गरेका छन् । लिभरपुलका सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा उनी तेस्रो स्थानमा छन् । उनले चारपटक प्रिमियर लिग गोल्डेन बुट जित्दै व्यक्तिगत रूपमा पनि धेरै उपलब्धि हासिल गरेका छन् । लिभरपुलले सलाहको बिदाइ अर्को वर्ष मात्र गर्नेछ । सन् २०२७ को नयाँ वर्षमा लिभरपुलले सलाहको भव्य बिदाइ गर्ने जनाएको छ ।

सलाहको आगमनपछि चम्किएको लिभरपुल 
जर्मन प्रशिक्षक जर्गेन क्लोपको समयमा सलाहलाई साडियो माने र रोबटो फिर्मिगोले उत्कृष्ट साथ दिएका थिए । यी तीनजना खेलाडीले इंग्लिस प्रिमियर लिगमा तहल्का नै मच्चाएका थिए । तत्कालीन प्रशिक्षक क्लोपले पनि सलाहको आगमनले लिभरपुलले एउटा दिशा पाएको प्रतिक्रिया दिएका थिए । 

लिभरपुलले सलाहको बहिर्गमनको जानकारी दिँदा खेलाडीले भने खासै प्रतिक्रिया दिएका छैनन् । लिभरपुलले ६ बुँदामा सलाहले चालू सिजनको अन्त्यसम्म क्लब छाड्ने सहमति गरेको खुलासा गरेको थियो । तर, सलाहले घुमाउरो रूपमा लिभरपुल एक विश्वकै उत्कृष्ट क्लबका रूपमा टिप्पणी गरेका छन् । ‘यहाँ लामो अवधि बस्न चाहेको थिएँ । लिभरपुलबाट बाहिरिने कल्पना नै गरेको थिइनँ,’ उनले भने, ‘लिभरपुल एउटा क्लब मात्र नभएर इतिहास नै हो ।’ सलाहले नौ वर्ष लिभरपुलमा रहँदा धेरै पक्ष सिक्न र अनुभव गर्ने अवसर पाएको बताए । ‘नौ वर्ष यति छिटो बित्यो, मलाई थाहा नै छैन,’ उनले भने, ‘यहाँ रहँदा एनफिल्डलाई दोस्रो घर बनाएँ । सबै समर्थकले उत्तिकै माया गरेका छन् ।’ 

साउदी प्रो लिगमा ध्यान
नयाँ सिजनपछि सलाह कुन क्लबमा जाने भन्ने यकिन छैन । तर, अन्तर्राष्ट्रिय मिडियाहरूले सलाहलाई साउदी प्रो लिगबाट राम्रो प्रस्ताव आएको दाबी गरेका छन् । पछिल्लो समय सन्न्यासको सँघारमा रहेका चर्चित खेलाडीको प्रमुख गन्तव्य साउदी प्रो लिग बनेको छ । साउदी क्लब अल इत्तिहादले सलाहलाई पुन: प्रस्ताव गरेको छ । सन् २०२३ मै इत्तिहादले उनलाई भिœयाउने प्रयास गरेको थियो । तर, सलाहले केही वर्ष लिभरपुलमै रहने बताउँदै साउदी क्लबको प्रस्ताव अस्वीकार गरेका थिए । यसपटक भने लगभग इत्तिहादको प्रस्तावबाट उनी खुसी छन् । 

यसकारण साउदी प्रो लिगमा आबद्ध हुनकै लागि उनले लिभरपुलसँग थप सम्झौता नगरी बहिर्गमनको बाटो रोजेको एजेन्सीले जनाएको छ । ‘एजेन्टको सहयोगबाट इजिप्टका खेलाडीले इत्तिहादसँग अन्तिम वार्ता गरिसकेका छन्,’ एजेन्सीले जनाएको छ, ‘यसपटक उनी लिभरपुलबाट बाहिरिने पक्का भइसकेको छ ।’ 

पछिल्लोपटक लिभरपुल र सलाहबिच सन् २०२७ सम्म सम्झौता भएको थियो । लिभरपुल यसपटक २०औँ प्रिमियर लिग जित्ने अभियानमा छ । सलाहका म्यानेजर अर्ने सोल्टले पनि आगामी डिसेम्बरमा सलाह र साउदी क्लबबिच सम्झौता हुने बताएका छन् । अफ्रिकन कपपछि नै सलाहले वार्ता थालेको उनको भनाइ छ । युरोपियन च्याम्पियन्स लिगमा सलाह अन्तिमपटक च्याम्पियन्स लिगमा सहभागी हुनेछन् । उनले पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्ध क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।  

See More On

सुझावित समाचार