प्रधानमन्त्री कार्कीका पिएले सम्हाले एनटिएनसी अध्यक्षको पदभार

बुधबार, ११ चैत, २०८२
डिजिटल संस्करण

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव (पिए) आदर्श श्रेष्ठले बुधबार प्रकृति संरक्षण कोष (एनटिएनसी)को अध्यक्षको पदभार सम्हालेका छन् । श्रेष्ठ बुधबार एनटिएनसीको कार्यालय खुमलटार पुगेर पदभार ग्रहण गरेका हुन् ।

श्रेष्ठलाई सदस्यसचिव डा. नरेश सुवेदीले स्वागत गरेका थिए । जननिर्वाचित सरकार गठनको तयारी भइरहँदा प्रधानमन्त्री कार्कीले गत १ चैतमा श्रेष्ठलाई पाँच वर्षका लागि कोषको अध्यक्ष बनाएकी थिइन् । प्रधानमन्त्री कोषको संरक्षक रहने व्यवस्था राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ मा छ । त्यस्तै, सरकारका वनमन्त्री स्वतः कोषको अध्यक्ष रहने परम्परा छ । तर, नयाँ सरकार गठनसँगै नयाँ मन्त्री आउने पूर्वसन्ध्यामा आइतबार संरक्षक कार्कीले पिएलाई नै कोषको अध्यक्ष बनाएपछि चौतर्फी आलोचना भएको थियो ।

आलोचनाबिच श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । श्रेष्ठ ६ महिनाअघि मात्र सर्वाेच्च अदालतमा करारबाट नायब सुब्बास्तरको कम्प्युटर अपरेटर थिए । जेन–जी विद्रोहबाट तत्कालीन सरकार ढलेपछि प्रधानमन्त्री बनेकी कार्कीले वनमन्त्री माधव चौलागाईंलाई कोषको अध्यक्षको जिम्मेवारी दिएकी थिइनन् । बरु, पूर्ववनमन्त्री ऐनबहादुर शाही ठकुरी नै ६ महिनासम्म अध्यक्ष रहे । यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले २१ वैशाख ०७८ मा तत्कालीन वनमन्त्री प्रेम आलेलाई पन्छाएर राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीलाई कोषको अध्यक्ष बनाउँदा चौतर्फी आलोचना भएको थियो । ०५८ देखि कोषमा वनमन्त्री नै अध्यक्ष रहँदै आएका थिए ।

कोषका अध्यक्षले पारिश्रमिक नपाए पनि गाडी र चालकसँगै बैठक भत्ता र कोषकै पैसामा देश–विदेश सयरको अवसर पाउँछन् । एक करोडमाथिको खर्चको अख्तियारी पनि अध्यक्षले नै दिनुपर्ने नियम छ ।

सुझावित समाचार