मकवानपुरको बकैया गाउँपालिका– ११ स्थित कान्तिलोकपथ सडकखण्डमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।मंगलबार राति करिब साढे बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.८ख ८७६० नम्बरको ‘सरफ’ लोड बोकेको ट्रक अनियन्त्रित भई सडकछेउको घरमा ठोक्किँदै करिब १००–१५० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ट्रकमा सवार पर्सा वीरगन्ज महानगरपालिका– ३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको छ । उनलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएपछि बिहान ६:५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा ट्रकचालक सोही स्थानका ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई भरतपुर, चितवनतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट जितपुर भन्ज्याङबाट प्रहरी सहायक हवल्दार सुरेन्द्र दराईको कमान्डमा टोली खटिएको थियो । साथै नेपाली सेनाको लेनडाँडा सुरक्षा बेसबाट सुबेदार सीताराम कार्कीको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा संलग्न भएको थियो । इलाका प्रहरी कार्यालय ठिंगनबाट ट्राफिक प्रहरीसहित थप सुरक्षा टोलीसमेत परिचालन गरिएको थियो । अनियन्त्रित ट्रकले स्थानीय ओमानसिंह तितुङको खाली घरमा ठक्कर दिएको थियो । घरमा मानिस नबस्ने भएकाले थप मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घरमा भने आंशिक क्षति पुगेको छ ।