बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान तथा मूल्यांकन गर्दै बजेटको प्रारम्भिक खाका तयार पारेको हो । मंगलबार बसेको बजेट स्रोत व्यवस्थापन समितिको बैठकले प्रदेशको वर्तमान आर्थिक अवस्थाको समीक्षा गर्दै आगामी वर्षको बजेटको आकार र स्रोतको बाँडफाँटबारे प्रारम्भिक निर्णय गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङको नेतृत्वमा बसेको बैठकले चालू आर्थिक वर्षको राजस्व संकलन, संघीय अनुदान र आन्तरिक आम्दानीको अवस्थालाई आधार मानेर आगामी बजेटको रूपरेखा तय गरेको हो । मन्त्री तामाङका अनुसार आगामी आर्थिक वर्षको बजेट चालू वर्षको तुलनामा उल्लेख्य रूपमा घट्ने देखिएको छ । चालू आर्थिक वर्षमा ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्ष करिब ५० अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।