बागमतीमा बजेट निर्माण सुरु, आगामी वर्ष १७ अर्बले खुम्चिने

राजस्व घट्दो, संघीय अनुदान कटौती र नगद मौज्दात कम हुँदा करिब ५० अर्बमा सीमित हुने संकेत

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान तथा मूल्यांकन गर्दै बजेटको प्रारम्भिक खाका तयार पारेको हो ।

मंगलबार बसेको बजेट स्रोत व्यवस्थापन समितिको बैठकले प्रदेशको वर्तमान आर्थिक अवस्थाको समीक्षा गर्दै आगामी वर्षको बजेटको आकार र स्रोतको बाँडफाँटबारे प्रारम्भिक निर्णय गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङको नेतृत्वमा बसेको बैठकले चालू आर्थिक वर्षको राजस्व संकलन, संघीय अनुदान र आन्तरिक आम्दानीको अवस्थालाई आधार मानेर आगामी बजेटको रूपरेखा तय गरेको हो ।

मन्त्री तामाङका अनुसार आगामी आर्थिक वर्षको बजेट चालू वर्षको तुलनामा उल्लेख्य रूपमा घट्ने देखिएको छ । चालू आर्थिक वर्षमा ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्ष करिब ५० अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

यसअनुसार बजेटको आकार करिब १७ अर्ब रुपैयाँ (झन्डै २५.८९ प्रतिशत) ले घट्ने अनुमान गरिएको छ । सरकारले प्रारम्भिक रूपमा ४७ अर्ब रुपैयाँलाई आधार माने पनि अत्यावश्यक कार्यक्रम समेट्दा बजेट ५० अर्बसम्म पुग्न सक्ने जनाइएको छ ।

राजस्वमै निर्भरता बढी

आगामी बजेटमा प्रदेशले पाउने सबैभन्दा ठुलो हिस्सा राजस्व बाँडफाँटबाट आउने देखिएको छ । यस शीर्षकबाट मात्र करिब ३० अर्ब ८९ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ जुन कुल बजेटको आधाभन्दा बढी हो ।

संघीय सरकारबाट प्राप्त हुने अनुदान भने घट्ने देखिएको छ । संविधानअनुसार प्राप्त हुने विभिन्न अनुदान शीर्षकबाट आगामी वर्ष करिब १३ अर्ब ८१ करोड रुपैयाँ मात्रै आउने अनुमान गरिएको मन्त्री तामाङले बताए ।

प्रदेशको आन्तरिक आय भने सीमित नै रहने देखिएको छ। आगामी वर्ष आन्तरिक स्रोतबाट करिब चार अर्ब १२ करोड रुपैयाँ मात्रै संकलन हुने अनुमान गरिएको छ ।
यस्तै, चालू आर्थिक वर्षको बजेट कार्यान्वयनपछि प्रदेश सरकारसँग करिब पाँच अर्ब रुपैयाँ नगद मौज्दात रहने अनुमान गरिएको छ । अघिल्ला वर्षहरूमा मौज्दात बढी हुँदा बजेटको आकार पनि ठुलो हुने गरेको भए पनि यसपटक मौज्दात घट्दा बजेट विस्तार गर्न नसकिने अवस्था आएको मन्त्री तामाङले बताए ।

प्रदेश सरकारका अनुसार जेन–जी आन्दोलन, विपत् व्यवस्थापनमा परेको दबाब, निर्वाचनलगायतका कारणले राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ । त्यसमाथि संघीय सरकारबाट प्राप्त हुने अनुदानमा भइरहेको निरन्तर कटौतीले बजेट निर्माण थप चुनौतीपूर्ण बनेको छ । यस्तै, खर्च गर्न नसकेको दुई अर्ब रुपैयाँभन्दा बढी अनुदान रकम संघीय सरकारलाई फिर्ता गर्नुपर्ने अवस्थाले पनि स्रोत संकुचन भएको मन्त्री तामाङको भनाइ छ ।

‘सीमित स्रोत र वर्तमान आर्थिक अवस्थाले ५० अर्बभन्दा ठुलो बजेट बनाउन अनुमति दिँदैन,’ उनले भने, ‘त्यसैले आगामी बजेट यथार्थपरक र प्राथमिकतामा आधारित हुनेछ ।’
आगामी बजेट निर्माणका लागि केही दिनभित्रै मन्त्रालयगत सिलिङ पठाउने तयारी भइरहेको छ । स्रोत घट्ने भएकाले मन्त्रालयहरूको बजेट सीमा पनि घट्ने निश्चितजस्तै छ ।

कुन–कुन क्षेत्रको बजेट कटौती गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ । साथै, बजेट निर्माणलाई व्यवस्थित बनाउन मन्त्रालयले छिट्टै बजेट निर्माण मार्गदर्शनसहित सम्बन्धित निकायहरूलाई पत्राचार गर्ने तयारी गरेको छ ।

सुझावित समाचार