नयाँ सरकारको गृहकार्यबिच सुस्ताए चुनावी सरकारका मन्त्री

औपचारिक जिम्मेवारीमा सीमित मन्त्रीहरू सक्रिय भूमिकाबाट ओझेल पर्दै छन्, प्रधानमन्त्रीले पर्यटकीय र धार्मिक क्षेत्रहरूको भ्रमण भ्याएकी छिन्

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेका वेला चुनावी सरकारका प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो सक्रिय भूमिकाबाट ओझेलमा परेका छन् । प्रधानमन्त्री सुशीला कार्कीदेखि अन्य मन्त्रीहरूसम्म पूर्ण सक्रिय छैनन्, औपचारिक जिम्मेवारीमा सीमित देखिएका छन् । 

झन्डै दुईतिहाइ सिटको जनादेश पाएको रास्वपा नयाँ सरकार गठनको अन्तिम तयारीमा लागेको छ । निर्वाचनको जनादेशअनुसार वरिष्ठ नेता बालेन्द्र शाह १३ चैतमा प्रधानमन्त्रीमा नियुक्त हुने तय भइसकेको छ ।

हाल प्रधानमन्त्रीसहित ११ सदस्यीय मन्त्रिपरिषद् छ । रक्षा, सञ्चार तथा सूचना प्रविधि, शिक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले सम्हालिरहेकी छिन् । अन्य धेरै मन्त्रीहरू पनि विभिन्न मन्त्रालयको दोहोरो जिम्मेवारीमा छन् । 

प्रधानमन्त्री कार्की अहिले देशका पर्यटकीय र धार्मिक क्षेत्रहरूको भ्रमणमा छिन् । बिहीबार मुगुको राराताल गएकी उनी शुक्रबार सुर्खेतबाट हेलिकोप्टरमा धनुषा पुगेर जानकी मन्दिरको दर्शन गरिन् । त्यसअघि मुस्ताङको मुक्तिनाथ र पछि पशुपतिनाथको दर्शन पनि गरिसकेकी छिन् । 

यसैबिचमा राजनीतिक दलका नेताहरूलाई भेटेर चुनाव सम्पन्न गराउन सहयोगी भूमिका खेलेको भन्दै धन्यवादसमेत दिएकी छिन् । यी गतिविधिले पछिल्ला दिनमा प्रधानमन्त्री कार्की नियमित सरकारी कामभन्दा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएकामा त्यससँग सरोकार राख्ने पक्षलाई धन्यवाद दिने, धार्मिक/पर्यटकीय भ्रमण र बहिर्गमनको मनस्थितिमा देखिन्छिन् । 

यद्यपि, प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले भने प्रधानमन्त्री कार्की आफ्नो जिम्मेवारीमा सक्रिय नै रहेकी बताए । ‘प्रधानमन्त्रीज्यू काममै हुनुहुन्छ । उहाँले आफ्नो भूमिका निभाइरहनुभएको छ,’ उनले भने । 

प्रधानमन्त्रीका दुईजना सल्लाहकारले राजीनामा दिइसकेका छन् । मुख्य सल्लाहकार अजयभद्र खनाल र गोविन्दनारायण तिमिल्सिनाले राजीनामा दिइसकेका प्रेस सल्लाहकार रावलले बताए । खनालले २९ फागुन र तिमिल्सिनाले गत सोमबार राजीनामा दिएका हुन् । 

गृहमन्त्री ओमप्रकाश अर्यालसमेत अहिले मन्त्रालयको सामान्य गतिविधिमा कम सक्रिय देखिएका छन् । मन्त्रालयको प्रकृतिका हिसाबले सुरक्षा मामिलामा संवेदनशील हुनुपर्ने भए पनि साबिकजस्तो नयाँ गतिविधि र निर्णयहरूमा उनी सक्रिय नरहेको मन्त्रालयका अधिकारीहरूले बताए । ‘सुरक्षा संवेदनशीलताबाहेक नयाँ कामहरूमा हात हाल्ने गरी सक्रिय हुनुहुन्न,’ मन्त्रालयका ती अधिकारीले भने, ‘अफिस त सामान्य आइरहनुभएकै छ ।’ 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल मन्त्रालयको भूमिकाबाट अलग्गिएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आज (शुक्रबार) देखि ‘कुलिङ पिरियड’ सुरु भएको बताएका छन् । आफ्नो नाम जोडेर ‘ड्रायल बेलुन’ नफाल्न पनि उनले स्टाटसमार्फत आग्रह गरेका छन् । 

सहरी विकास मन्त्रालयको कार्य जिम्मेवारीसमेत सम्हालेका भूमि व्यवस्थामन्त्री प्रा.डा. कुमार इङ्नाम पनि दुवै मन्त्रालयको कामबाट अलग्गिसकेका छन् । उनी मन्त्रालयहरूको भूमिकाबाट निष्क्रिय छन् । स्वकीय सचिव प्रवेश सिवाकोटीका अनुसार मन्त्री इङ्नाम अहिले दुवै मन्त्रालयको निर्णय प्रक्रियामा संलग्न छैनन् । ‘भूमि व्यवस्था मन्त्रालयमा आइतबारदेखि र सहरी विकास मन्त्रालयमा बिहीबारदेखि नै मन्त्रीज्यूले नियमित काम छाडिसक्नुभएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘मन्त्रीका रूपमा संलग्न हुनैपर्ने र निर्णय गर्नैपर्ने अत्यावश्यक कामबाहेक नियमित गतिविधिमा उहाँ संलग्न हुनुहुन्न ।’ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेतको थप जिम्मेवारीमा रहेका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईं पनि आफ्नो भूमिकाबाट निष्क्रिय छन् । मन्त्रालयका एक सहसचिवका अनुसार मन्त्री चौलागाईंले पदीय जिम्मेवारीका हिसाबले गर्नैपर्ने सामान्यबाहेक महत्वपूर्ण निर्णय गर्न छोडिसकेका छन् । नियमित कार्यालय आए पनि महत्वपूर्ण निर्णयमा मन्त्री चौलागाईं संलग्न हुन छोडेका मन्त्रालयका एक अधिकारीले बताए ।

उद्योग, पर्यटन र ऊर्जा मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका कानुनमन्त्री अनिलकुमार सिन्हाले समेत सक्रिय भूमिका कम गरेका छन् । उनले केही दिनयता नै महत्वपूर्ण निर्णय गर्न छाडेका छन् । ‘नयाँ सरकार बन्न लागेकाले उहाँमा बिदाइको मुड देखिन्छ,’ मन्त्रालयका एक सहसचिवले भने, ‘सक्रियता छोड्नुभएको छ ।’ 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी पनि मन्त्रालयका काममा कम सक्रिय देखिएका छन् । गत २१ फागुनको निर्वाचनयता नै मन्त्रीले सक्रियता घटाउँदै लगेको मन्त्रालयका एक अधिकारीले बताए । ‘मन्त्रीज्यू महत्वपूर्ण निर्णयमा संलग्न हुनुभएको छैन,’ ती सहसचिवले भने, ‘नयाँ सरकार आउने तरखर भएकाले नयाँ आउने सरकारले नै गर्छ भनेर सक्रियता घटाउनुभएको छ ।’ 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ हालसम्म मन्त्रालयको काममा सक्रिय नै छिन् । मन्त्रालय स्रोतका अनुसार आगामी आइतबारदेखि भने निष्क्रिय हुने संकेत उनले दिएकी छिन् । ‘आइतबार मन्त्रीज्यूले धन्यवाद कार्यक्रम राख्नुभएको जानकारी छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘सम्भवत: त्यसपछि निष्क्रिय रहनुहुन्छ ।’ 

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा हालसम्म मन्त्रालयका गतिविधिमा सक्रिय छिन् । तर, आइतबारदेखि भने महत्वपूर्ण निर्णय नगर्ने र कम सक्रिय हुने स्वास्थ्यमन्त्री शर्माको योजना रहेको मन्त्रालयका एक अधिकारीले बताए । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार भने मन्त्रालयको भूमिकामा सक्रिय नै छन् । 
 

See More On

सुझावित समाचार